काठमाडौं। सोमबार साँझ करिब ५ बजेतिर भृकुटीमण्डपभित्र छिर्दा नाइमा मोबिलिटी एक्स्पोका लागि चटारो थियो।
एक्स्पो मंगलबार बिहान ९ बजे उद्घाटन गर्ने तालिका रहेकाले स्टल तयार पार्न चटारो परेको हो। स्टल बनाउने काम अन्तिम चरणमा पुगेको छ।

कामदारहरु कोही रंग लगाइरहेका छन् भने कोही सामान सारिरहेका छन्। कोही साउन्ड सिस्टमका बक्स मिलाउँदैछन् भने कोही ब्रान्डका लोगो टाँस्न व्यस्त छन्।

आफ्नो-आफ्नो जिम्मेवारीमा सबै दौडधुप गरिरहेका छन्। कतै स्टल तयार गरेर नयाँ सवारीसाधन राख्न थालिएको छ।

ढिलोमा राती ११ बजेसम्म स्टल तयार पार्नुपर्नेछ। त्यसपछि प्रदर्शनीमा राखिने गाडीलाई स्टलमा सजाउनुपर्नेछ।

टेन्टभित्र बीवाइडी र डेन्जाका स्टल सँगै छन्। त्यही टेन्टभित्र निसान, म्याक्सस, आर्कफक्स र बीएआईसी पनि देखिन्छन्।

अर्कातिर फोर्थिङ र कायीका स्टल तयार हुँदैछन्। त्यसपछि आईकार, टाटा, टोयोटा र चेरी क्युक्युका स्टल देखिन्छन्। जसमा ब्राण्डका ब्याजिङ गर्ने काम भइसकेको छ।

हलभित्र हुन्डाई, एमजी, लिपमोटर, महिन्द्रा प्रोटोन, किया, वुलिङ, ओमोडा एण्ड जेको र ग्रेट वाल मोटर्सलगायत ब्रान्डका स्टल तयार पार्ने काम पनि अन्तिम चरणमा पुगेको छ। यस्तै दुई पाङ्ग्रे र कमर्सियल चार पाङ्ग्रेका स्टल पनि धमाधम बनिरहेका छन्।

६ दिनदेखि लगातार काम
स्टल निर्माणका लागि कामदारहरु ६ दिनदेखि लगातार भृकुटीमण्डपमै छन्। ‘चार दिनदेखि रातदिन नभनी काम गरिरहेका छौं। खाना खाएर दैनिक २ हजार रुपैयाँ आउँछ। सुत्ने समय पनि छैन। अब काम सकेपछि मज्जाले सुत्ने हो,’ एक कामदारले भने, ‘दिनमा २/३ घन्टा पालैपालो सुत्ने हो। हिजोदेखि अलि चटारो परेको छ।’

उनका अनुसार प्रदर्शनी सुरु हुनुअघि स्टललाई अन्तिम रूप दिन सबैभन्दा बढी दबाब अन्तिम दिनमा पर्ने गर्छ। त्यसैले सोमबार अन्य दिनमा भन्दा सबैलाई चटारो देखिएको छ।

‘अहिले त काम सक्नैपर्ने दबाब छ। आज रातिसम्म जसरी पनि सकाउनुपर्छ,’ उनले भने।

स्टल निर्माणमा संलग्न एक अटो कम्पनीका कर्मचारी पनि ६ दिनदेखि लगातार भृकुटीमण्डपमै व्यस्त रहेको बताउँछन्। स्टल बनाउने काम मात्रै नभएर ब्रान्डको क्याम्पेन, डिजाइन र अन्य तयारीको समन्वय पनि भृकुटीमण्डपबाट गरिरहेको उनको भनाइ छ।

‘दैनिक काम भइरहेको छ। हामीलाई धेरै कुराको प्रेसर छ। अफिसको अन्य काम पनि यहींदेखि भइरहेको छ। ब्रान्डिङदेखि प्रोमोसनल एक्टिभिटिज पनि यहींबाट गरिराखेका छौं। क्याम्पेनदेखि डिजाइनसम्मका कुरा पनि यहीँबाट कोर्डिनेट गर्नुपरेको छ,’ ती कर्मचारीले भने, ‘अहिलेसम्म स्टलको काम ८० प्रतिशत सकिएको छ। अब केही फाइनल ‘टचअप’ बाँकी छ।’

स्टल निर्माणमा संलग्न व्यवसायीका अनुसार अधिकांश स्टलको मुख्य संरचना तयार भइसकेको छ।

‘स्ट्रक्चर तयार छ, लाइटको सेटअप पनि भइसकेको छ। अब मुख्यतः टचअपको काम बाँकी हो। आज रातिसम्म सकिन्छ,’ एक व्यवसायीले भने, ‘गत वर्ष पनि चटारो यही थियो, अहिले पनि यही छ। यो पटक गत वर्षभन्दा अलि चाँडै काम भएको देखिन्छ।’
स्टलमा घट्यो व्यवसायीको खर्च
अटो शोका लागि स्टल निर्माण गर्न विगतमा ब्रान्ड तथा व्यवसायीले ठूलो रकम खर्च गर्ने गरेकामा यसपटक खर्च घटाएका छन्। निर्माण, लाइटिङ, संचालनलगायत सबै खर्च जोड्दा एउटा ठूलो स्टलमा ४० देखि ५० लाख रुपैयाँसम्म खर्च हुन अनुमान छ। गत वर्ष व्यवसायीले धेरै खर्च गरेका थिए।

सीजीले अघिल्लो पटक ८ वटा स्टल बनाउन करिब ७ करोड रुपैयाँसम्म खर्च गरेको थियो।

नाइमामा पनि पहिलो एक्स्पो भएकाले गत वर्ष स्टल फरक र प्रिमियम बनाइएको थियो। तर यो पटक प्राय: सबैको स्टल एउटै डिजाइनमा छ।

यसपटक अधिकांश प्रमुख ब्रान्ड दुईवटै अटो शोमा सहभागी भइरहेकाले खर्च व्यवस्थापनमा दबाब देखिएको व्यवसायीहरुको भनाइ छ।

‘पहिलेको जस्तो धेरै खर्च गर्ने अवस्था छैन। गाडी आउने पनि ठेगान छैन। बुकिङ मात्रैका आधारमा पनि खर्च बढाउन सकिँदैन,’ एक व्यवसायीले भने, ‘दुबै अटो शोमा सहभागी हुँदैछौं। एउटा शोका लागि बनाएको स्टल अर्कोमा काम लाग्दैन।’
