काठमाडौं। माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ। आयोजनाका लागि दुई बैंकले १० अर्ब १ करोड रुपैयाँ लगानी गर्ने भएका छन्।
प्रवर्धक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी र बैंकबीच सोमबार वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौता अनुसार आयोजनामा एनएमबि बैंकले ६ अर्ब ८१ करोड र सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछन्। बाँकी रकम प्रवर्धक कम्पनीले लगानी गर्नेछ।
मनाङमा निर्माण हुने आयोजनामा १२ अर्ब ८९ करोड रुपैयाँ खर्च हुने अनुमान छ। प्रति मेगावाट लागत २० करोडभन्दा कम रहेकोले आयोजनालाई आकर्षक मानिएको छ।
निर्माण थालेको ३ वर्षभित्र विद्युत उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ। माउण्टेन इनर्जीले निर्माण गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रोले हाल नियमितरुपमा विद्युत उत्पादन गरिरहेका छन्।