काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले आफ्नो गुन तिर्न बाँकी रहेको बताएका छन्।
उनले सोमबार सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै सरकार कम्पास हराएको जहाज जस्तो देखिएको र रास्वपा सभापति रविसँग आफ्नो नियमित कुराकानी भइरहेको बताए।
‘सरकार कम्पास हराएको जहाज जस्तो देखियो। रविजीसँग मेरो नियमित कुरा भइरहेको छ,’ उनले भने, ‘रविजीले मेरो गुन तिर्न पनि बाँकी छ।’
प्रचण्ड प्रधानमन्त्री रहेका बेला २०७९ मंसिर र २०८० फागुनमा रवि उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका थिए।
प्रचण्डले मुलुकसामु असाधारण परिस्थिति रहेको भन्दै दलहरुबीच सहकार्यको आवश्यकता रहेको बताए। ‘दुई-तीनवटा कुरामा खतराको घन्टी बजेकै छ। एउटा त राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, जनताको सार्वभौम अधिकार माथि चुनौती छ। सरकारले जे जस्ता नीति ल्याइरहेको छ, जे जस्ता अभिव्यक्ति आइरहेका छन्, त्यसले राष्ट्रिय स्वाधीनतामाथि पटक-पटक हमला भइराखेको स्थिति छ,’ उनले भने।