BIZMANDU
www.bizmandu.com

तेस्रो देशबाट ‘रेपसिड’ भित्र्याएर भारततर्फ फस्टायो तेल निर्यात, कार्गोरेलको सुविधाले बढ्यो लगानी

२०८३ साउन २४

तेस्रो देशबाट ‘रेपसिड’ भित्र्याएर भारततर्फ फस्टायो तेल निर्यात, कार्गोरेलको सुविधाले बढ्यो लगानी
तेस्रो देशबाट ‘रेपसिड’ भित्र्याएर भारततर्फ फस्टायो तेल निर्यात, कार्गोरेलको सुविधाले बढ्यो लगानी


विराटनगर। श्री श्याम एग्रो प्रोडक्ट्सले २० फिटका ३५ र ४० फिटका १० गरी ४५ वटा कन्टेनरमा ‘रेपसिड’ ल्याउँदैछ।

Tata
GBIME

चन्द्रशिव आयल मिल्सले पनि ४० फिटका १२ कन्टेनरमा र रुचि खाद्यतेल उद्योगले २० फिटका ११ वटा कन्टेनरमा तेस्रो मुलुकबाट मगाएको ‘रेपसिड’ बोकेको मालबाहक रेल आइतबार कोलकाता बन्दरगाहबाट विराटनगरस्थित रेलवे यार्ड अर्थात् नेपाल कस्टम यार्ड (एनसीवाई)तर्फ हिँडेको छ।

६८ वटा कन्टेनर बोकेको रेल यही हप्ता विराटनगर आइपुग्ने भारतको कनकोर (कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड)ले बताएको छ।

यसअघि अस्ट्रेलियाबाट कोलकाता बन्दरगाह हुँदै १ हजार ७० टन ‘रेपसिड’ पहिलोपटक साउन ४ गते कार्गोरेलमा विराटनगर ल्याइएको थियो।

तेस्रो देशबाट ‘रेपसिड’ ल्याएर भारतमा तेल निर्यात

‘रेपसिड’ तोरीको एक प्रजाति हो। नेपाल र भारतमा उत्पादन हुने रैथाने तोरीबाट तेलको पर्याप्त आपूर्ति नहुने हुँदा उद्योगीले समुद्रपारबाट आयातित ‘रेपसिड’ प्रयोग गर्दै आएका छन्।

तोरीको तेलमा सामान्यतया ६५ देखि ७५ प्रतिशत ‘रेपसिड’ मिश्रण हुने गर्छ। नेपाल र भारत दुबै देशले ‘रेपसिड’को तेललाई खाद्य अनुमति प्रदान गरेका छन्।

श्री श्याम एग्रोले आफ्नो उत्पादन आन्तरिक बजारमा विक्रीका साथै भारततर्फ निर्यात गर्दै आएको छ।

रिफाइनरीबाट उत्पादित प्रशोधित तेल स्वास्थ्यका लागि उचित नभएको प्रचार हुन थालेपछि केही समययता नेपाल र भारतका उपभोक्ता कच्चा तोरीको तेलतर्फ आकर्षित हुन थालेका छन्।

तर, यसका लागि दुबै देशमा तोरीको आन्तरिक उत्पादन पर्याप्त छैन। त्यसैले आर्थिक वर्ष २०८१/८२ देखि नेपालबाट भारतमा ‘रेपसिड’ तेलको निर्यात फस्टाएको छ।

भन्सार विभागका अनुसार ‘रेपसिड’ तेलको सबैभन्दा बढी निर्यात वीरगञ्ज नाकाबाट हुने गरेको छ। गत आर्थिक वर्ष भने विराटनगर नाकाबाट पनि उल्लेखनीय परिणाममा निर्यात भएको छ। विराटनगर नाकाबाट ‘रेपसिड’ तेल निर्यात गर्नेमा एक मात्र उद्योग श्री श्याम एग्रो हो।

गत आर्थिक वर्ष १ अर्ब ८० करोड ६२ लाख ६० हजार रुपैयाँको ८९ लाख ५६ हजार ६४० लिटर ‘रेपसिड’ तेल भारत निर्यात भएको विभागको तथ्यांक छ। प्रति लिटर २०१.६६ रुपैयाँका दरले निर्यात भएको हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ८४ करोड ८६ लाख ४५ हजार रुपैयाँको ४५ लाख ७३ हजार ६०२ लिटर तेल निर्यात भएको थियो। त्यतिखेर प्रति लिटर १८५.५५ रुपैयाँका दरले पठाएको देखिन्छ।

आर्थिक वर्ष २०८०/८१ म भने ३१ लाख ४ हजार रुपैयाँको मात्र निर्यात भएको थियो। त्यो वर्ष जम्मा २२ हजार ९९८ लिटर तेल प्रति लिटर १३५ रुपैयाँका दरले निर्यात गरिएको हो।

त्यसअघि भने नेपालले ‘रेपसिड’ तेल निर्यात गरेको थिएन।

तेल उद्योगमा संलग्न एफएनसीसीआई कोशीका कोषाध्यक्ष श्रवण अग्रवालले भारतबाट अत्यधिक मात्रामा ‘रेपसिड’ तेलको माग आइरहेको जानकारी दिए।

नेपाल र भारतको रैथाने तोरीको तेलभन्दा ‘रेपसिड’ तेल सस्तो छ। तर, यो तेलमा कुनै पनि प्रकारको राग र गन्ध हुँदैन। त्यसैले उद्योगीहरूले राग र गन्धका लागि ‘रेपसिड’ तेलमा नेपाल वा भारतमा उत्पादित रैथाने तोरीको तेल मिसाउँछन्।

नेपालका उद्योगीले निर्यात गर्ने ‘रेपसिड’ तेलको अधिकांश हिस्सा भारतका तेल उद्योगले कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरेका छन्। उनीहरूले नेपालबाट लगेको ‘रेपसिड’ तेलमा त्यहाँको रैथाने तोरीको तेल मिसेर आफ्नो ब्रान्डमा विक्री गर्छन्।

नेपालमा भन्दा भारतमा ‘रेपसिड’को आयात महसुल बढी छ। भारतीय भन्सारको दरबन्दी अनुसार सबै प्रकारका राजस्व जोड्दा ‘रेपसिड’को आयात महसुल ४० प्रतिशत पुग्छ। जसमा बेसिक कस्टम ड्युटी (बीसीडी) ३० प्रतिशत, बीसीडीको १० प्रतिशत अर्थात् ३ प्रतिशत सोसियल वेलफेयर सरचार्ज र जीएसटी ५ प्रतिशत लाग्छ।

यता नेपालमा ‘रेपसिड’को आयातमा भन्सार महसुल १० प्रतिशत र भ्याट मात्र छ। यसको संयुक्त असर २४.३ प्रतिशत हुन्छ।
आयात महसुलको यही फरक र नेपालबाट भारतमा साफ्टा अन्तर्गत शून्य महसुलमा जाने हुँदा भारतबाट ठूलो परिमाणमा माग आएको हो।

उद्योगीले अहिलेकै गतिले निरन्तरता पाउने हो भने चालु वर्ष ४ अर्ब रुपैयाँ हाराहारीको ‘रेपसिड’ तेल निर्यात हुने बताएका छन्।

समुद्रपारका मुलुकबाट आउने वस्तु लिएर कार्गोरेल विराटनगर आउन थालेपछि अन्य उद्योगी पनि ‘रेपसिड’ तेल निर्यात गर्न इच्छुक देखिएका छन्।

‘अब थर्ड कन्ट्री कार्गो लिएर विराटनगरमा पनि र्‍याक आउन थालेको छ। त्यसैले हामीले पनि निर्यातका लागि मुड बनाइरहेका छौं,’ चन्द्रशिव आयल मिल्सका नरेश राठीले भने।