काठमाडौं। नेपाली अटो बजारमा इभी एसयूभीतर्फ ४० देखि ५० लाख रुपैयाँ सेगमेन्टमा सबैभन्दा धेरै तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।
यही मूल्यमा स्थापित ब्रान्डका मोडलसँगै नयाँ ब्रान्डका एसयूभी र क्रसओभर थपिन लागेका छन्। जसले ग्राहकलाई विकल्प बढ्नेछ भने पुराना खेलाडीमाथि दबाब पर्नेछ।
४०-५० लाख रुपैयाँ सेगमेन्टमा कुनै समय सीमित इभी उपलब्ध रहेकामा गत वर्षदेखि प्रतिस्पर्धा बढेकामा मंगलबार सुरु हुने नाइमा मोबिलिटी एक्स्पोबाट थप गाडी एयसूभी बजारमा आउँदैछन्।
बीवाइडी, एमजी, टाटा, नामी जस्ता बजारमा स्थापित ब्रान्डले गत वर्षको अटो शोमा नै प्रतिस्पर्धा गरेकामा यसपालि नयाँ ब्राण्ड थपिन लागेका हुन्। नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोले यो सेगमेन्टमा प्रतिस्पर्धा चर्काउने देखिएको छ।
यो सेगमेन्टमा अब लिपमोटरको बीजेरो३एक्स, डिपलको नेभो, चेरीको क्युक्यु ब्रान्ड थपिन लागेका छन्।

लिपमोटर नेपाली बजारमा केही वर्ष अगाडि भित्रिएको ब्रान्ड हो। यसको बी१० र सी१० अहिले पनि बजारमा देखिन्छन्।
कम्पनीले अहिले मास मार्केटलाई हेरेर लिपमोटर बी०३एक्स बजारमा ल्याएको छ। जसको मूल्य पहिलो १०० ग्राहकका लागि ४५ लाख रुपैयाँ र त्यसपछि ४७ लाख रुपैयाँ तोकिएको छ।

यसमा १४५ किलोवाट क्षमताको मोटर र ५३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ। फुल चार्जमा गाडीले ५०० किलोमिटरभन्दा धेरै रेन्ज दिने कम्पनीको दाबी छ।
चांगनको नयाँ ब्रान्ड नेभो पनि नेपाली बजारमा आउने तर्खरमा छ। यो गाडी दुई वटा भेरियन्टमा उपलब्ध हुनेछ। जसमा ४०.३ र ५१.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध हुनेछ।
सानो ब्याट्री साइजको भेरिन्टको मूल्य ४०-५० लाख रुपैयाँ सेगमेन्टमा बस्नेछ। ब्याट्रीले एक पटकको फुल चार्जमा ४०० किलोमिटर रेन्ज दिने कम्पनीले बताएको छ।

नयाँ मोडल सार्वजनिक गर्ने र बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने तयारीमा रहेका पुराना ब्रान्डका कारण ५० लाख रुपैयाँ नकट्ने इभी ग्राहकको ध्यान तान्ने मुख्य वार जोन बन्ने देखिन्छ।
४० देखि ५० लाख रेन्जमा गत वर्ष प्रतिस्पर्धा गरेका केही ब्रान्डका गाडी यो पटक मूल्य बढेर ५० लाखभन्दा माथिको सेगमेन्टमा पुगेका छन्। यो सेग्मेन्टमा ग्राहकले अब केवल ब्रान्ड हेरेर गाडी छनोट गर्ने अवस्था छैन। उनीहरुले रेन्ज, ब्याट्री क्षमता, मोटर पावर, एडास फिचर, डिजाइन, वारेन्टी र बिक्रीपछिको सेवालाई तुलना गर्न थालेका छन्।
नयाँ ब्रान्डका लागि बजारमा आफ्नो नाम स्थापित गर्नु चुनौती हो। नयाँ कम्पनीले धेरै फिचरसहित आकर्षक मूल्यमा उपलब्ध गराए पनि ग्राहकको ध्यान बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स र रिसेल मूल्यमा जाने गरेको छ।
पुराना ब्रान्डका लागि भने चुनौती अर्कै छ। उनीहरुसँग बजारमा स्थापित नाम र ग्राहकको विश्वास भए पनि नयाँ ब्रान्डले त्यही मूल्यमा बढी फिचर र नयाँ प्रविधि उपलब्ध गराउन थालेपछि मूल्य-फिचरको प्रतिस्पर्धा सामना गर्नुपर्नेछ।
अहिले बजारमा ह्याचब्याक सेगमेन्टमा पनि राम्रा गाडी आइरहेका छन्। तर, पनि एसयूभी खोज्नेहरुका लागि भने ४० देखि ५० लाख सेगमेन्ट राम्रो देखिएको छ।
यो सेग्मेन्टमा बीवाइडी, टाटा, सुजुकी र एमजी नयाँ खेलाडी होइनन्। नेपाली इभी बजारमा लामो समयदेखि उपस्थित रहेकाले यी ब्रान्डसँग ग्राहकको विश्वास, बिक्रीपछिको सेवा र बजारमा स्थापित नेटवर्कको फाइदा छ।

बीवाइडीको एटो२ १०० किलोवाट मोटर र ५१.१३ किलोवाट आवर(युनिट) ब्याट्रीसहित उपलब्ध छ। कम्पनीले गाडी ४८ लाख ९९ हजारमा बेच्दै आएको छ। कम्पनीले अब कम किलोवाट क्षमताको ब्याट्री प्याक भर्सन पनि ल्याउन लागेको छ। जसको मूल्य अहिलेको भन्दा केही कम हुनेछ। मूल्य सेगमेन्ट भने यही हुनेछ।

त्यस्तै एमजीले ४३ लाख ९९ हजार रुपैयाँमा एस५ बिक्री गरिरहेको छ। एमजीको एस५मा ४९ किलोवाट आवर क्षमताको ब्याट्री छ जसले ३४० किलोमिटरसम्म रेन्ज दिन्छ।
टाटाको पन्च इभी पनि यही सेगमेन्टमा पर्छ। यसको नयाँ फेसलिफ्ट मोडल ब्याट्री साइज र रेन्ज बढेर आएको छ। यसमा ४० किलोवाट आवर क्षमताको ब्याट्री प्याक राखिएको छ। साथै अन्य फिचर पनि अपडेटेड भएका छन्।

पन्च इभीको मूल्य अहिले ४० लाख रुपैयाँ रहेकामा नयाँ फेसलिफ्टको मूल्य तोकिएको छैन।
यस्तै डोङफेङको नामी भिगो पनि मूल्यका हिसाबले यही सेगमेन्टको गाडी हो। यसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ छ।

यसमा ९९ किलोवाट क्षमताको मोटर र ४४.४९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ। यसको ब्याट्रीले एक पटकको फुल चार्जमा ३०० किलोमिटरसम्म रेन्ज दिन्छ।
सुजुकीको ई-भिटाराको एउटा भेरियन्ट यही रेन्जमा पर्छ। ई-भिटाराको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ छ।

यसमा ४९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ। यसले फुल चार्जमा ३४४ किलोमिटर रेन्ज दिन्छ। यसमा १०६ किलोवाट क्षमताको मोटर उपलब्ध छ।
ग्रेट वाल मोटर्सको ओरा फाइभ गाडीले पनि अहिले यही सेगमेन्टमा प्रतिस्पर्धा गरिरहेको छ। यसको बेस भेरियन्टको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ राखिएको छ।

गाडीमा ५८.३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ जसले फुल चार्जमा ४३५ किलोमिटर रेन्ज दिन्छ। यसमा १०० किलोवाट क्षमताको मोटर पावर उपलब्ध छ।