काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय अराजकताले हद पार गरेको भन्दै कांग्रेस अब चुप लागेर नबस्ने बताएका छन्।
उनले आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा एक घण्टा १० मिनेट लामो मन्तव्य राख्ने क्रममा सरकारमा संवेदनशीलता र जवाफदेहिता दुवै नदेखिएको बताए। उनले सरकारका विषयमा ३५ मिनेट बोल्दै बरालिएको सरकारलाई ठिक ठाउँमा ल्याउने काम कांग्रेसको भएको बताए।
गगनले प्रधानमन्त्री बालेन्द्र शाहले एक्सप्रेस वेमा आफूखुशी गति बढाउन पाउने तर लेन मिच्न भने नपाउने बताए।
‘एक्सप्रेस वे मा ब्रेक नलगाउन पाउनु हुन्छ। गति बढाउन पाउनु हुन्छ। यो तपाइँको छनोट हो। तर, लेन मिच्न पाउनुहुन्न। विधि प्रक्रियाबाट सरकार बाहिर जान पाउँदैन,’ उनले भने, ‘कार्यपालिकाले अहिले आफ्नो सीमा के हो भन्ने मानेको छैन। संसद् र संवैधानिक निकाय मेरो आदेश पालक हो भन्ने ठान्न थाल्यो। अख्तियारको प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर थुन्न पाइन्छ? यो शासकीय अराजकता हो। नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको छ। यस्तो छुट हामीले दिनु हुँदैन। पटक पटकको गल्तीमा हामी चुप लागेर बस्दैनौं। सरकार बरालिएको छ। खबरदारी गरेर ठिक ठाउँमा ल्याउने हाम्रो जिम्मेवारी हो।’
गगनले अर्थतन्त्रका विषयमा पनि सरकार सही ट्र्याकमा नरहेको बताए। उनले हेटौंडा उद्योग चलाउने तयारीको विषय उठाउँदै अहिलेको काम गराइमा सुधार नगरे अर्थतन्त्र झन् खुम्चिएर जाने बताए।
‘सरकार इकोनोमीबारे राइट ट्र्याकमा छैन। मेसो पाइरहेको छैन। विषयवस्तु बुझिरहेको छैन। देशलाई ७५ करोड मिटर कपडा चाहिन्छ। तर, हेटौंडा कपडा उद्योग पूर्ण क्षमतामा चलाए पनि १.६० करोड मिटर भन्दा उत्पादन हुँदैन। नेपालको समस्या चोरी पैठारीको हो। जसले गर्दा अहिले उद्योगहरु क्षमताको ३० प्रतिशतमा मात्र चलिरहेका छन्। यत्रो दुई तिहाइको सरकार ठूलो निर्णय गर्नुपर्नेमा उल्टो बाटो हिंडिरहेको छ। यसले अर्थतन्त्र झन् खुम्चिंदै जान्छ,’ उनले भने।