BIZMANDU
www.bizmandu.com

रास्वपाले मन्त्रीहरुलाई नागरिकसँग जोड्दै, भदौदेखि घण्टीघरमा ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम

२०८३ साउन २४

रास्वपाले मन्त्रीहरुलाई नागरिकसँग जोड्दै, भदौदेखि घण्टीघरमा ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम
रास्वपाले मन्त्रीहरुलाई नागरिकसँग जोड्दै, भदौदेखि घण्टीघरमा ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम


काठमाडौं। मन्त्रीहरुले अबदेखि हरेक महिना पार्टी कार्यालयमा उपस्थित भएर आमनागरिक र पार्टी कार्यकर्तासँग संवाद गर्ने भएका छन्। यसका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम गर्ने भएको छ।

Tata
GBIME

कार्यक्रम अन्तर्गत सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिने पार्टी सहमहामन्त्री असिम शाहले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

‘लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु हो। यसै यथार्थलाई मनन गर्दै, जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न रास्वपाले आगामी भदौ महिनादेखि नागरिक, नीति र नेतृत्व कार्यक्रम सुरु गर्दैछ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसले भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास गरिएको छ।’

कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा साँझ ५ देखि ६ बजेसम्म नागरिक संवाद हुनेछ। यसमा मन्त्रीले सीधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नेछन्। यसले नेतृत्वलाई भुइँको यथार्थसँग जोडी राख्न मद्दत गर्ने आशा गरिएको छ विज्ञप्तिमा उल्लेख छ।

दोस्रो चरणमा साँझ ६ बजेपछि मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य र प्रतिनिधि सभाका सांसदको संयुक्त बैठक बस्नेछ। नागरिकबाट प्राप्त सुझावका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा दोस्रो चरणमा सघन छलफल हुनेछ।

नागरिक, सरकार, सांसद र संगठनबीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्नका लागि साझा रणनीति तय गर्न र मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउनका लागि यस किसिमको कार्यक्रम गर्न लागेको असिमले उल्लेख गरेका छन्।