BIZMANDU
www.bizmandu.com

नुवाकोटको घ्याङस्वारामा अर्ग्यानिक चिया उत्पादन सुरु, मूल्य किलोको ६ हजार रुपैयाँ

२०८३ साउन २४

नुवाकोटको घ्याङस्वारामा अर्ग्यानिक चिया उत्पादन सुरु, मूल्य किलोको ६ हजार रुपैयाँ
नुवाकोटको घ्याङस्वारामा अर्ग्यानिक चिया उत्पादन सुरु, मूल्य किलोको ६ हजार रुपैयाँ


त्रिशूली (नुवाकोट)। नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको चियाको मूल्य प्रतिकिलो ६ हजार रुपैयाँ निर्धारण गरिएको छ। चियाखेती पञ्चकन्या-४ घ्याङस्वारामा छ।

Tata
GBIME

बाँझो जग्गालाई कृषियोग्य बनाई लगाएको चियाको गुणस्तर परीक्षणमा ‘उत्कृष्ट’ प्राप्त भएसँगै तयारी चियाको शुल्क तोकिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए। उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत बनाइएको ‘घ्याङस्वारा अर्ग्यानिक चिया उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, मूल्य निधारण, बिक्री तथा वितरणसम्बन्धी कार्यविधि, २०८३’ अनुसार मूल्य निर्धारण गरिएको हो।

‘घ्याङस्वारामा तीन वर्षअघि रोपेको चियाका बिरुवामध्ये करिब १३ हजार बोटबाट उत्पादन सुरु भएको छ,’ अध्यक्ष तामाङले भने, ‘अर्थोडक्स र अर्ग्यानिक चियाको गुणस्तरसहित नेपाली बजार मूल्य, लागत, उपभोक्ताको माग लगायतलाई मध्यनजर गर्दै गरिएको मूल्य निर्धारणले गाउँपालिकालाई व्यावसायिक कारोबारतर्फ अघि बढाउन बाटो खुला भएको छ।’

स्थानीय सरकार सञ्चालन ऐन र यसअन्तर्गत बनेको कार्यविधि अनुसार ‘घ्याङस्वारा चिया व्यवस्थापन समिति’मार्फत तोकिएको शुल्क कार्यपालिका बैठकबाट पारित भएर कार्यान्वयनमा आएको समितिका सदस्यसचिव सरोजकुमार खातीले जानकारी दिए। उनका अनुसार पहिलोपटक गत चैतमा टिपेको पातको प्रशोधनको उत्पादन सफल भएसँगै चियाको आर्थिक कारोबारमार्फत पालिकालाई आम्दानीसँग जोड्न व्यावसायिक प्रयोजनका लागि योजनासहितको लक्ष्य लिइएको छ।

गाउँपालिकाले उत्पादन गरेको चियाको मूल्य ५०० ग्रामको ३ हजार, २५० ग्रामको १ हजार ५ सय, १०० ग्रामको ६ सय, ५० ग्रामको ३ सय र २५ ग्रामको १ सय ५० रुपैयाँ उल्लेख गरिएको छ। उच्च हिमाली एवं पहाडी क्षेत्रमा उत्पादन भएको अर्थोडक्स र अर्ग्यानिक चियाको अहिलेको बजार मूल्यअनुसार पञ्चकन्याले निर्धारण गरेको मूल्य निकै सहुलियत रहेको समितिका सदस्यसचिव तथा रोजगार सीप तथा उद्यमशीलता केन्द्रका संयोजक खातीको भनाइ छ।

गाउँपालिकाले गत वैशाखमा यहाँको चियालाई ‘घ्याङस्वारा अर्ग्यानिक चिया’ नाम दिएर सार्वजनिक गरेको थियो। त्यसपश्चात् ट्रेडमार्क, अनुज्ञापत्रसहितको कानुनी प्रक्रिया पूरा गरेर बजार (उपभोक्ता)मा लैजान मुख्य अवरोध रहेको मूल्य निर्धारणसहितको सञ्चालन प्रक्रिया पूरा गरेको जनाएको छ।

पञ्चकन्या–४ स्थित घ्याङस्वाराको ३३२ रोपनी सार्वजनिक जग्गामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्र पञ्चकन्याको समन्वयमा चियाको बिरुवा लगाइएको छ। तीमध्ये अहिले १२ हजार ५० बोटले उत्पादन दिन सुरु गरेको हो।

चार वर्षअघिसम्म बाँझो रहेका तथा झारपातले ढाकिएका यहाँको सार्वजनिक जग्गालाई कृषियोग्य बनाई जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीसहित सयौँ स्थानीयवासीको श्रमदानबाट ८३ हजार बिरुवा रोपिएका छन्। उत्पादन भएका पातलाई तयारी चिया बनाउन आवश्यक प्रशोधन ककनीमा रहेको चिया तथा कफी विकास कार्यालयले सहयोग पुर्‍याएको छ।

समुद्र सतहबाट १८०० मिटरदेखि २२०० मिटर उचाइमा अवस्थित घ्याङस्वारामा गाउँपालिकाबाट चियाको व्यावसायिक उत्पादनसहित स्थानीय किसानलाई अनुदानमा वितरण गर्न ८४ हजार बिरुवा तयार भएको गाउँपालिकाका उपाध्यक्ष विमला केसीले बताइन। रासस