भद्रपुर। पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा पनि बढेको छ। मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा ४०.८५ प्रतिशतले बढेर ३६ अर्ब ३८ करोड रुपैयाँ नाघेको हो।
आव २०८१/८२ को असारसम्म काँकरभिट्टा नाका भएर २५ अर्ब ८३ करोड १० लाख ६४ हजार रुपैयाँ बराबरको व्यापार घाटा रहेकामा आव २०८२/८३ को सोही अवधिमा १० अर्ब ५५ करोड १९ लाख ७८ हजार रुपैयाँले वृद्धि भई ३६ अर्ब ३८ करोड ३० लाख ४२ हजार रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा यस नाकाबाट हुने आयात (पैठारी) २२.७१ प्रतिशतले बढेको छ। आव २०८१/८२ मा ५१ अर्ब ८ करोड ६५ लाख ८ हजार रुपैयाँ बराबरको सामान आयात भएकोमा गत आव २०८२/८३ मा ११ अर्ब ६० करोड ९ लाख १८ हजार रुपैयाँले बढेर ६२ अर्ब ६८ करोड ७४ लाख २६ हजार रुपैयाँ पुगेको छ।
सोही अवधिमा निर्यात (निकासी)तर्फ ४.१५ प्रतिशतको वृद्धि दर्ता भएको छ। आव २०८१/८२ को असारसम्म २५ अर्ब २५ करोड ५४ लाख ४४ हजार रुपैयाँको वस्तु निर्यात भएकामा आव २०८२/०८३ मा १ अर्ब ४ करोड ८९ लाख ३९ हजार रुपैयाँले बढेर २६ अर्ब ३० करोड ४३ लाख ८३ हजार रुपैयाँ पुगेको छ।
आयात र निर्यात दुवैमा वृद्धि भएसँगै कुल वैदेशिक व्यापार १६.५७ प्रतिशतले बढेर ८८ अर्ब ९९ करोड १८ लाख १० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा कुल वैदेशिक व्यापार ७६ अर्ब ३४ करोड १९ लाख ५३ हजार रुपैयाँ थियो।
पूर्वी नाकाबाट हुने कुल व्यापारमा आयातको वर्चस्व झन् बढेको छ। आयात-निर्यात अनुपातको हिसाब गर्दा आव २०८१/८२ मा १ रुपैयाँको निर्यात गर्दा २.०२ रुपैयाँको आयात हुने गरेकामा गत आवमा अनुपात बढेर २.३८ रुपैयाँ पुगेको छ।
कुल व्यापारमा निर्यातको हिस्सा ३३.०८ प्रतिशतबाट घटेर २९.५६ प्रतिशतमा सीमित भएको छ भने आयातको हिस्सा ६६.९२ प्रतिशतबाट बढेर ७०.४४ प्रतिशत पुगेको छ। रासस