BIZMANDU
www.bizmandu.com

सुकुम्बासी हटाइएका वाग्मती किनारमा ठूला संरचना नबन्ने, योजनामा ग्रीन पार्कदेखि स्पोर्ट्स भिलेजसम्म

२०८३ साउन २३

सुकुम्बासी हटाइएका वाग्मती किनारमा ठूला संरचना नबन्ने, योजनामा ग्रीन पार्कदेखि स्पोर्ट्स भिलेजसम्म
सुकुम्बासी हटाइएका वाग्मती किनारमा ठूला संरचना नबन्ने, योजनामा ग्रीन पार्कदेखि स्पोर्ट्स भिलेजसम्म


काठमाडौं। सुकुम्वासी बस्ती हटाइएका वाग्मती करिडोरका खाली स्थानमा अब ठूला खालका स्थायी संरचना नबनाइने भएको छ। बाढीको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदी किनारलाई खुला र हरियालीयुक्त क्षेत्रका रुपमा विकास गर्ने योजना अघि सारेको छ।

Tata
GBIME

पूर्वाधार विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले नदी किनारमा स्पोर्ट्स भिलेज, ग्रिनरी पार्क र मल्टिलेयर पार्किङ बनाउनका लागि गुरुयोजनादेखि नयाँ डिजाइन तयार पार्ने काम गरिरहेको हो।

समितिका अध्यक्ष डा. आनन्द सिंह भाटले यसअघि ठूला संरचना बनाउने योजना बनाइए पनि बाढी र डुबानको जोखिमलाई ध्यानमा राख्दै विकास मोडल फेरेको बताए।

‘करिडोरका केही निश्चित क्षेत्रमा स्पोर्ट्स भिलेज निर्माण गरिनेछ। यहाँ भलिबल, फुटबल, टेबलटेनिस र योग लगायत विशेष गेमिङ जोन रहनेछन्, जहाँ खेलाडीले अभ्यासका साथै टुर्नामेन्ट समेत गर्न सक्नेछन्,’ भाटले भने, ‘त्यस्तै, च्यासल फुटबल ग्राउन्डलाई पनि करिडोर सडक संजालसँग मिलाएर अभ्यास मैदानका रुपमा प्रयोगमा ल्याइनेछ।’

प्रस्तावित योजनाको स्केच।

उनका अनुसार वाग्मती किनारमा बनाउने विभिन्न संरचनाका लागि योजना विगतदेखिकै थियो। पछिल्लोपटक सरकारले सुकुम्वासीलाई उठाएपछि किनारमा थप ठूलो क्षेत्रफल खाली भएको छ, जहाँ समितिले बृहत् योजनाका साथ काम गर्ने भएको छ।

समितिका अनुसार पार्किङ र ड्राइभिङ सेफ्टी पार्क पनि बनाइने छ। यातायात व्यवस्थापनलाई सहज बनाउन करिडोरका विभिन्न खण्डमा पार्किङ स्पट बनाइनेछ। आवश्यकता अनुसार ‘मल्टिलेयर पार्किङ’ समेत निर्माण गरिने भाटले बताए।

सुकुम्वासी हटाइएको वाग्मती तटीय क्षेत्र सबै सफा भने हुन बाँकी छ। वंशीघाटको केही क्षेत्रमा वृक्षरोपण गरिएको छ भने केहीमा घरटहराका भग्नावशेष हटाउने काम अझै भइरहेको छ। धेरै ठाउँ कंक्रिटका थुप्रा लगाएका छन्।

फाइल तस्बिर

बल्खु क्षेत्रमा ट्रकलाई लोड ट्रान्सफर गर्ने व्यवस्था मिलाउनुका साथै केही क्षेत्रमा ड्राइभिङ सेफ्टी पार्क निर्माण गरिने योजना छ।

‘बाढीको जोखिम रहेको खाली जग्गामा कुनै ठूला भौतिक संरचना बनाइनेछैन। पूर्णरुपमा खुला क्षेत्र (ओपन स्पेस) र ग्रिनरी पार्कका रुपमा विकसित गरिनेछ। यसले नदी करिडोरलाई हराभरा र सफा बनाउन सहयोग पुग्नेछ,’ भाटले भने।

उनका अनुसार कनेक्टिभिटी र करिडोर सडक खुलाउने तयारी पनि छ। यातायात आवागमनलाई सहज र छिटो बनाउन थापाथली पुलमुनिको करिडोर बाटो खुला गरिनेछ। यसले समग्र करिडोर कनेक्टिभिटीलाई उच्च प्राथमिकतामा राख्दै यातायात सहज बनाउने समितिको विश्वास छ।

प्रस्तावित योजनाको स्केच।

टुकुचामा सफा पानी बगाउने योजना छ। ‘टुकुचा खोलामा वाटर ट्रिटमेन्ट प्लान्ट निर्माणको काम भइरहेको छ भने बंशीघाट क्षेत्रमा पनि प्रशोधित सफा पानी बगाउने योजना अघि बढाइएको छ। साथै, सौन्दर्य वृद्धिका लागि विभिन्न स्थानमा वाटर फाउन्टेन राखिनेछन्,’ भाटले भने।

समितिले २० वर्षे वाग्मती कार्ययोजनामा आधारित रहेर डिजाइन र डीपीआर बनाइरहेको छ। भाटका अनुसार समितिले सहरी सौन्दर्य र पर्यावरणलाई पहिलो प्राथमिकतामा राखेको छ। विस्तृत डिजाइन र गुरुयोजना तयार भएपछि समितिले पूर्वाधार विकास मन्त्रालयसँग बजेट मागेर लगानी साझेदारीमा कार्यान्वयन तीव्र पार्ने भाटले बताए।

सरकारले गत वैशाख दोस्रो साता बागमती लगायत नदी किनारबाट सुकुम्वासी बस्ती हटाएको थियो।