काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले लामो समयदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योग र संस्थानमा सुधारका संकेत देखिन थालेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले दुग्ध विकास संस्थान, नेपाल औषधि लिमिटेड, सिंहदरबार वैद्यखाना, नेपाल वायुसेवा निगम र हेटौंडा कपडा उद्योगको फोटो राख्दै शनिबार बिहान लामो पोस्ट लेखेका हुन्।
राष्ट्रिय उद्योगलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सरकारले सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको उनले बताएका छन्। सरकारको इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको दाबी उनको छ।
उनले नेपाल औषधि, हेटौंडा कपडा, नेवानि, दुग्ध विकास र सिंहदरबार वैद्यखानामा भएका सुधारका विवरणसमेत सार्वजनिक गरेका छन्। शाहका अनुसार वर्षौंदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा कमाएको उनको दाबी छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।
सरकारको शासकीय सुधारसम्बन्धी सय कार्यसूचीमा आगामी तीन वर्षमा लिमिटेडबाट ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको शाहले बताएका छन्। यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारको उत्पादन तयारी अन्तिम चरणमा पुगेको र हाल ११ प्रकारका औषधि उत्पादन भइरहेको उनले उल्लेख गरेका छन्।
त्यस्तै, लामो समयदेखि बन्द हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको र परीक्षणपछि सरकारले नै उद्योग सञ्चालन गर्ने शाहले बताएका छन्। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भई केही मात्रामा कपडा उत्पादनसमेत भइरहेको उनको दाबी छ।
नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको शाहले बताएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो। उक्त अवधिमा निगमको अकुपेन्सी ८६ प्रतिशत पुगेको र कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषबाट जहाज खरिद गर्न लिएको ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता भुक्तानी गरिएको उनले उल्लेख गरेका छन्।
दुग्ध विकास संस्थानले किसानको बक्यौता भुक्तानी चक्रसमेत छोट्याएको शाहको दाबी छ। आठ महिनासम्म पुग्ने गरेको भुक्तानी चक्रलाई दुईदेखि तीन महिनामा झारिएको र बक्यौता रकम ७२ करोडबाट ३५ करोड रुपैयाँमा सीमित गरिएको उनले बताएका छन्। किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको तथा दैनिक बिक्री ३५ प्रतिशत बढेर औसत दैनिक राजस्व ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको उनको भनाइ छ।
सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको र गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको शाहले बताएका छन्। उनका अनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी हो। वैद्यखानाले हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको र चालु आर्थिक वर्षमा १५० प्रकार पुर्याउने लक्ष्य राखिएको छ।
तर प्रधानमन्त्री शाहको पोस्टले सरकारी उद्योगमा भएका सुधारका सबै श्रेय आफू नेतृत्वको सरकारलाई दिएर आलोचकलाई प्रश्न उठाउने ठाउँ दिएका छन्। सरकारी उद्योग तथा व्यावसायिक प्रतिष्ठानको सुधारका कतिपय प्रक्रिया विगतका सरकारकै पालामा सुरु भएका हुन्, जसलाई उनले उल्लेख गरेका छैनन्।
विशेषगरी नेपाल औषधि लिमिटेडको पुनरुत्थानको प्रक्रिया वर्तमान सरकारबाट मात्र सुरु भएको होइन। एक दशकसम्म बन्द भएर जर्जर अवस्थामा पुगेको लिमिटेडमा तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले २०७३ सालमा पाँच करोड रुपैयाँ बजेट विनियोजन गराएपछि औषधि उत्पादन पुनः सुरु भएको थियो। त्यसपछि पनि विभिन्न सरकारका पालामा कम्पनीको उत्पादन र व्यवस्थापन सुधारका प्रयास हुँदै आएका थिए।
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि पनि विभिन्न समयमा सरकारले अध्ययन तथा प्रक्रिया अघि बढाउँदै आएको थियो। वर्तमान सरकारले परीक्षण उत्पादन र सञ्चालनका लागि नयाँ व्यवस्थापकीय निर्णय लिए पनि त्यसलाई विगतका प्रयासबाट पूर्ण रूपमा अलग गरेर हेर्न मिल्दैन।
सरकारी उद्योग तथा व्यावसायिक प्रतिष्ठानको अहिलेको सुधार विगतमा तयार भएको जगमाथि भएको व्यवस्थापन सुधारको निरन्तरता हो। वर्तमान सरकारले सुधारका लागि काम गरिरहेको भए पनि ‘सबै काम वर्तमान सरकारले मात्रै गरेको’ भन्ने शैलीले अघिल्ला सरकारका प्रयास र योगदानलाई ओझेलमा पार्ने देखिएको छ।
शाहले पोस्टमा रुग्ण अवस्थामा रहेका अन्य उद्योगमा समेत इमान्दारिता र देशप्रतिको समर्पणका साथ नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गरेका छन्। उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउने यात्रामा नागरिकको रचनात्मक साथ, सहयोग र विश्वास आवश्यक रहेको उनले बताएका छन्।