लोप हुने जोखिममा रहेका पृथ्वीका १०० वन्यजन्तु प्रजाति जोगाउन हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो र अर्बपति जेफ बेजोसले २० करोड अमेरिकी डलरको संरक्षण कोष स्थापना गरेका छन्।
डिक्याप्रियो र बेजोसको सहयोगमा सञ्चालित संस्थाहरूले पृथ्वीका सर्वाधिक संकटमा परेका प्रजातिको संरक्षण र पुनरुत्थानका लागि कम गर्दैछन्। यसमा लोप हुने उच्च जोखिममा रहेका लेमुर, सलामान्डर, सालक, जंगली सुँगुर र एकिड्नाजस्ता प्रजाति छन्।
डिक्याप्रियोको संस्था री-वाइल्ड र बेजोस अर्थ फन्डको नेतृत्वमा ‘फिनिक्स स्पिसिज प्रोजेक्ट’ घोषणा गरिएको हो। आयोजक संस्थाहरूका अनुसार यो गम्भीर रूपमा संकटग्रस्त वन्यजन्तु प्रजातिको पुनरुत्थानका लागि विशेष रूपमा स्थापना गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो एकल कोष हो।
जलवायु परिवर्तनका कारण बासस्थान र भविष्य नै जोखिममा परेका प्रजातिलाई संरक्षण गर्न ठूलो र समन्वित अभियान आवश्यक रहेको धारणा डिक्याप्रियोले लामो समयदेखि अघि बढाउँदै आएका थिए।
सन् २०२१ मा डिक्याप्रियो र री-वाइल्डका सहसंस्थापक तथा जीवविज्ञानी प्रमुख कार्यकारी अधिकृत वेस सेक्रेस्टले अमेजनका अर्बपति बेजोस र उनकी पत्नी तथा पूर्व टेलिभिजन समाचार प्रस्तोता लरेन सान्चेज बेजोससँग भेट गरेका थिए। बेजोस बेजोस अर्थ फन्डका अध्यक्ष र लरेन उपाध्यक्ष हुन्।
त्यस भेटपछि स्थानीय सरकार, वातावरण संरक्षणमा काम गर्ने संस्था तथा आदिवासी समुदायसँग संकटमा परेका प्रजातिको अवस्था कसरी सुधार्न सकिन्छ भन्ने विषयमा छलफलको शृंखला सुरु भएको थियो। ती छलफलबाटै अन्ततः फिनिक्स स्पिसिज प्रोजेक्टको अवधारणा विकसित भएको हो।
यस पहलअन्तर्गत संरक्षण गरिने प्रजातिमा माडागास्करको सुनौलो मुकुट भएको सिफाका लेमुर, अमेरिकाको नर्थ क्यारोलिनास्थित सानो खोंचमा मात्र पाइने फोक्सोविहीन हरियो सलामान्डर, फिलिपिन्सका केही टापुमा मात्र पाइने भिसायन वार्टी पिग र युकातान प्रायद्वीप नजिकैको एउटा टापुमा मात्र पाइने मेक्सिकोको कोजुमेल हार्भेस्ट मुसा रहेका छन्।
त्यस्तै, गालापागोस टापुस्थित वुल्फ ज्वालामुखीमा मात्र पाइने गुलाबी स्थल इगुआना, दक्षिणपूर्वी एसियाको मूल प्रजाति मानिने मलायन पाङ्गोलिन अर्थात् सुन्डा पाङ्गोलिन, आफ्नो चप्टो र लचिलो खपटाका कारण चिनिने तान्जानियाको प्यानकेक टर्टल र कोलम्बियाका पहाडी क्षेत्रमा मात्र पाइने स्टार्री नाइट हार्लेक्विन टोड पनि परियोजनामा समेटिएका छन्।
न्यु गिनीमा पाइने एटेनबरोको लामो चुच्चो भएको एकिड्ना पनि संरक्षण गरिने प्रजातिमध्ये एक हो। अण्डा पार्ने स्तनधारी जनावर एकिड्नाको यो प्रजातिको नाम १०० वर्ष पुगेका प्रकृतिविद् तथा प्रकृतिसम्बन्धी वृत्तचित्रका प्रस्तोता डेभिड एटेनबरोको सम्मानमा राखिएको हो।
परियोजनाको उद्देश्य सफल भइरहेका तर छोटो अवधिका संरक्षण प्रयासलाई दीर्घकालीन स्रोत र सहयोग उपलब्ध गराउनु पनि हो।
परियोजनाबाट अनुदान पाउने संस्थामध्ये एक एसोसिएसन फानाम्बीकी कार्यकारी निर्देशक टियाना एन्ड्रिआमानानाले भनिन्, ‘हामीले वर्षौंदेखि सुनौलो मुकुट भएको सिफाकाको संरक्षण गर्दै आएका छौँ। तर त्यस प्रजातिले पाउनुपर्ने स्रोतको तुलनामा हाम्रो बजेट कहिल्यै पर्याप्त थिएन। त्यसलाई लोप हुन दिनु भनेको विकल्प नै थिएन।’
उनका अनुसार नयाँ पहलबाट प्राप्त आर्थिक सहयोग, विश्वव्यापी मञ्च र प्राविधिक सहायताले यस प्रजातिको संरक्षणका लागि पहिलेभन्दा धेरै सम्भावना सिर्जना भएको छ।