काठमाडौं। नाइमा मोबिलिटी एक्स्पो लक्षित गरी लिपमोटरले नयाँ गाडी नेपाल बजारमा ल्याएको छ। कम्पनीको आधिकारिक बिक्रेता सांग्रिल मोटर्सले लिपमोटर बी जेरो ३ एक्स नेपाली बजारमा सार्वजनिक गरेको हो।
कम्पनीले उक्त गाडीको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ। तर पहिलो १०० जना ग्राहकहरुलाई भने ४४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्ने कम्पनीले घोषणा गरेको छ।
यसमा १४५ किलोवाट क्षमताको मोटर छ भने ५३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ। फुल चार्जमा ५०० भन्दा धेरै रेन्ज दिने कम्पनीको दाबी छ।

गाडीमा १८ इन्चको एलोयह्विल, तथा १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, लेभल २ एडास ड्राइभर असिस्टेन्स र ५१० लिटरको फराकिलो बुट स्पेस जस्ता फिचर छन्।
यो मोडल दुई वटा भेरियन्टमा उपलब्ध हुने जनाइएको छ। यसमा फरक ब्याट्री क्षमता र सुविधाहरुमा केही भिन्नता हुनेछन्। बी०३ को चिनियाँ संस्करण ए१० ले चीनमा अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको कम्पनीको दाबी छ।

यस वर्षको जुन महिनामा मात्र ब्रान्डको बिक्री संख्या कीर्तिमानी ९३ हजार ३७६ युनिट पुगेको कम्पनीले जनाएको छ। गाडी नेपालको किफायती एसयूभी क्षेत्रमा एक बलियो प्रतिस्पर्धी हुने कम्पनीको अपेक्षा छ।