BIZMANDU
www.bizmandu.com

प्रचण्डका छोरीज्वाइँ गंगा र जीवनको सम्पत्तिमा अख्तियारले थाल्यो अनुसन्धान, बैंक लकर रोक्का गर्न पत्र

२०८३ साउन २२

प्रचण्डका छोरीज्वाइँ गंगा र जीवनको सम्पत्तिमा अख्तियारले थाल्यो अनुसन्धान, बैंक लकर रोक्का गर्न पत्र
प्रचण्डका छोरीज्वाइँ गंगा र जीवनको सम्पत्तिमा अख्तियारले थाल्यो अनुसन्धान, बैंक लकर रोक्का गर्न पत्र


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको सम्पत्तिमाथि अनुसन्धान थालेको छ।

Tata
GBIME

अख्तियारले गंगा र जीवनको सम्पत्तिबारे छानबिन अघि बढाउँदै उनीहरुको बैंक खाता, लकरदेखि घरजग्गाको विवरण मागेको छ।

‘जेनजी आन्दोलनपछि सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन सरकारको प्राथमिकतामा परेको थियो। सुशीला कार्की नेतृत्वको सरकारले नै सम्पत्ति छानबिनलाई प्राथमिकता दिएकामा अहिलेको सरकारले पनि निरन्तरता दिन भनेको छ,’ आयोगका एक उच्च अधिकारीले बिजमाण्डूसँग भने, ‘त्यही कारण हामीले गंगा र जीवनको विवरण मागेका हौं।’

प्रचण्ड प्रधानमन्त्री भएका बेला गंगा सचिवालयमा थिइन्। जीवन कोशीका प्रदेशका सांसद हुन्। उनी प्रचण्डकै कारण दुई पटक मन्त्री भएका थिए।

गंगा र जीवनको नाममा ललितपुर, विराटनगर र मोरङको बुढीगंगामा घर तथा जग्गा देखिएको छ। अस्वाभाविक सम्पत्ति आर्जन गरेको देखिएपछि अख्तियारले उनीहरुमाथि अनुसन्धान थालेको हो।

स्रोतका अनुसार अख्तियारले साउन ११ गते नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्दै उनीहरुको नाममा रहेको लकर रोक्का गर्न भनेको छ।

‘उल्लेखित व्यक्तिको नाममा लकर खोलिएको भए उक्त लकरबाट सामान झिक्न नपाउने गरी रोक्का राखी सम्वन्धित बैंकले सोको जानकारी यस आयोगमा गराउनुका साथै आयोगबाट लकर फुकुवाको पत्र प्राप्त भएपश्चात फुकुवाको व्यवस्था गर्नू,’ पत्रमा भनिएको छ।

अख्तियारले दुवै जनाको हकमा भूमि प्रशासन कार्यालयहरुसँग जग्गा जमिनको विवरण मागेको छ। ‘विवरण मागिएकै आधारमा अकुत सम्पत्ति आर्जन गरेको भन्न मिल्दैन। यो अनुसन्धानको प्रक्रिया हो,’ आयोग स्रोतले भन्यो, ‘हामी सबै विवरण केलाएपछि मात्र निर्णयमा पुग्ने हो। अहिले अनुसन्धानको प्रारम्भिक चरणमा छौं।’

प्रचण्ड बस्दै आएको खुमलटारस्थित घर र गंगाको सुनाकोठीस्थित घर जेनजी आन्दोलनका क्रममा जल्दा रकम भेटिएको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी भएका थिए। त्यो टिकाटिप्पणीका विषयमा स्वयं प्रचण्डले गंगाको घरमा नगद भेटिएको भन्ने प्रचार निराधार भएको दाबी गरेका थिए।

‘न त्यत्रो नगद भेटिएको छ, न त कुनै अवैध आयस्रोतबाट आम्दानी गरेका छौं,’ उनले भनेका थिए।

बालेनको नेतृत्वमा सरकार बनेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको समाचार बाहिरिएपछि गंगाले पनि सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी थिइन्।

‘नेपाल सरकारका सम्बन्धित निकायहरूले आवश्यक ठानेको जुनसुकै छानबिन वा अनुसन्धानका लागि हामी पूर्णरूपमा सरकारलाई सहयोग गर्न प्रतिबद्ध छौं। हेक्का रहोस्, सत्यलाई भ्रमले कहिल्यै पराजित गर्न सक्दैन,’ उनले लेखेकी थिइन्।

जेनजी आन्दोलनका बेला नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र पूर्वऊर्जामन्त्री दीपक खड्काको निवासमा ठूलो रकम जलेको भेटिएको भन्दै विभागले अनुसन्धान गरेको थियो।

विभागले देउवा र उनकी पत्नी डा. आरजु राणाका नाममा पक्राउ पुर्जी नै जारी गरेको थियो। तर देउवा दम्पती विदेशमा रहेका कारण पक्राउ परेका छैनन्। खड्कालाई भने पक्राउ गरिएकामा उनी सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए।

विभागले खड्काको सम्पत्तिमाथिको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ। खड्काको बयान बाँकी रहेको र प्रश्न तयार भइसकेको स्रोतले बताएको छ।