काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई कालो चस्मा खोलेर जनतासँग संवाद बढाउन आग्रह गरेका छन्।
उनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सरकार चलाउनेहरुको नियत र इन्टिग्रिटीमा कुनै शंका नरहेक पनि ढंग नदेखिएको भन्दै नजानेको कुरा सिक्न आग्रह समेत गरेका छन्।
‘अहिले राज्य संचालनमा इन्टीग्रिटीमा कुनै पनि शंका छैन। इन्टेनसनमा पनि प्रश्न छैन। तर, कता कता ढंग नपुगेको हो कि? भन्ने लाग्छ। र, त्यो स्वीकार गर्नुपर्छ। थाहा नभएको कुरा सिक्नुपर्छ,’ उनले भने, ‘अविकसित देशमा हरेक जनताको आशा राजनीतिज्ञसँग हुन्छ, नेतृत्वसँग हुन्छ। अमेरिका, बेलायत, फ्रान्स, जापान जस्तो डेभलप कन्ट्रीमा पोलिटिसियनलाई नचिनेर पनि दैनिकी सामान्य रहन सक्छ। तर, हामी जस्तो देशमा हुँदैन। त्यसैले जननिर्वाचितहरू जनतासँग कनेक्टेड हुनुपर्छ। हामीले हाम्रो सवारी साधनको कालो सिसा त हटायौं, कालो स्टिकर त हटायौं। अब सम्भवतः कालो चस्मा पनि हटाउनुपर्छ, त्यो आवश्यक छ।’
मनिषले मधेशमाथि हेपाहा व्यवहार जारी रहेको भन्दै त्यसलाई सच्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। उनले मधेशको सीमामा २५ रुपैयाँको सामान ल्याउँदा खोस्ने तर विमानस्थलमा भने महँगो रक्सी र ल्यापटप ल्याउन छुट रहेको भन्दै गरिब र धनीलाई अलग व्यवहार किन? भनी प्रश्न गरे।
मनिषले मधेशमा लागेको आगो निभे पनि दाउरा ननिभेको भन्दै हेपाहा व्यवहार सच्याउन सरकारलाई सचेत गराए।
‘मधेशमा भर्खरै आगो बल्यो हामीले जसोतसो निभाउन सक्यौं। सरकारलाई यहिंबाट सन्देश दिन चाहन्छु आगो निभेको हो दाउरा निभेको होइन। त्यसैले सचेत भइरहनुस्। त्यहाँ २५ रुपैयाँको चिप्स खोसिन्छ। सन्तुलन छैन भन्ने कुरा एयरपोर्टबाट ब्लु लेबल र ल्यापटप ल्याउन दिइरहनुभएको छ। मधेशको बोर्डरमा २५ रुपैयाँको चिप्स किन खोस्दैछ सुरक्षाकर्माीले? बोर्डरको गरिब र एयरपोर्टको धनीलाई किन अलग अलग व्यवहार?,’ उनले प्रश्न गरे।
मनिषले सन्तुलित विकासको आवश्यकतामा जोड दिंदै मधेशका साथै प्रवास र निजी क्षेत्रको साथ लिएर अगाडि बढ्न सरकारलाई सुझाव दिए।
‘देशमा दिगोपन र सन्तुलित विकासका लागि स्टेकहोल्डरहरू- एउटा मधेश छ, अर्को प्रवास छ, अर्को निजी क्षेत्र छ। तर, दुर्भाग्य ती असुरक्षित छन्,’ उनले भने।
उनले प्रवासमा रहेका नेपाली धेरै सम्पन्न भइसकेको भन्दै उनीहरुको पुँजी भित्र्याउनका लागि उदार हुन आग्रह गरे।
‘हाम्रो प्रवास निकै सबल भइसकेको छ। राज्यले अहिले पनि नेपालीहरू त्यहाँ कामदार नै छन् भन्ने सोच्छ। अमेरिकामा मैले केही नेपाली भेटें, जसको प्राइभेट जेट छ, जहाज छ। नेपालीहरू त्यहाँ पुगिसके। अब उहाँहरूलाई वेलकम गर्नुपर्यो, अलि वार्म हुनुपर्यो उहाँहरूप्रति। नागरिकताको इस्यु, भिसाको इस्यु, इन्भेस्टमेन्टको इस्यु, स्टक मार्केटको इस्यु- यो सबैमा हामी अलि प्रवासी नेपालीप्रति वेल्कमिङ भयौं भने हाम्रो एनुअल जीडीपी जति छ, त्यसको थ्री टाइम्स उहाँहरूसँग फन्ड छ, इन्भेस्टमेन्टको क्यापासिटी छ। त्यसमा म राज्यको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।
मनिषले निजी क्षेत्रलाई धरपकड बन्द गरेर लगानीका लागि प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। उनले निजी क्षेत्रले अहिले प्रहरी देख्ने बित्तिकै तर्सिने गरेको भन्दै आत्मविश्वास बढाउन सरकारको ध्यानाकर्षण गराए।
‘निजी क्षेत्र त्रसित छ। प्रहरी देखेएपछि म सुरक्षित छु भन्ने सोच्नुपर्ने नागरिकहरू प्रहरी देखेर तर्सिन्छन्, कुन बेला धरपकड गर्ला? कुन बेला मेरो घरमा छापा मार्ला भनेर। त्यसैले गर्दा निजी क्षेत्रलाई आत्मविश्वास दिनुस्। भएको पैसा खर्च गर्न दिनुस्, बैंकमा भएको पैसा लगानी गर्न दिनुस्। त्यो वातावरण दिनुस्, त्यो आवश्यक छ,’ उनले भने, ‘अर्थ मन्त्रालयबाट केही प्रयास भइराखेको छ। तर, त्यो प्रयास पेपरमा मात्र देखिएको छ। व्यवहारमा देखिएको छैन।’
मधेश, प्रवास र निजी क्षेत्रलाई एउटा साझेदारका रूपमा लिएर सरकारका तर्फबाट भरोसा दिन आवश्यक रहेको उनको भनाइ छ।