काठमाडौं। सरकारले खाना पकाउने एलपी ग्यास अभावको समस्या समाधानका लागि आयात बढाउन कुटनीतिक पहल थालेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले एलपी ग्यासको अभाव टार्नका लागि परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल थालेको बताएकी हुन्।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले भारतबाट आयात हुने ग्यासको कोटा थप गर्न औपचारिक पहल सुरु भइसकेको जानकारी दिइन्। उनका अनुसार हाल भारतबाट ४९ हजार ५ सय टन ग्यास आयात हुँदै आएकोमा त्यसलाई बढाएर ६० हजार टन पुऱ्याउनका लागि परराष्ट्र मन्त्रालयले पहल थालेको हो।
‘साउन महिनादेखि हाफ सिलिन्डरको सट्टा पुरा सिलिन्डर वितरण प्रारम्भ भएपछि मागमा एकैपटक वृद्धि भई केही असहजता सिर्जना भएको छ। यसलाई समाधान गर्न कूटनीतिक पहलका साथै मन्त्रालय र नेपाल आयल निगमका तर्फबाट विभिन्न अल्पकालीन र दीर्घकालीन कदमहरू चालिएका छन्,’ उनले भनिन्।
देशभरि ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन् भने १० हजार १६६ टन भण्डारण क्षमता छ। दैनिक फिलिङ क्षमता करिब १ करोड ७५ लाख ग्यास सिलिन्डर रहेको छ।
आर्थिक वर्ष २०८१/८२ मा ५ लाख ५४ हजार ६१२ टन र आर्थिक वर्ष २०८२/८३ मा ५ लाख २० हजार ५२५ टन मात्र ग्यास आयात भएको भएको थियो।
सरकारलाई प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको असार ३१ गतेकै बैठकले ग्यास अभावको समस्या समाधान गर्न ६ बुँदे निर्देशन दिएको थियो।
निर्देशन अनुसार एलपी ग्यास सिलिन्डर ट्र्याकिङ सम्बन्धी प्रणाली तयार गर्नका लागि आयल निगमले प्रक्रिया सुरु गरिसकेको छ।
‘इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागबाट कार्य प्रारम्भ भएको छ भने तत्कालका लागि गुगल फर्म प्रयोग गरी उद्योगबाट भरिएको सिलिन्डर बिक्री डिपो र विक्रेताहरूलाई वितरण भएको स्थान खुल्ने विवरण संकलन गरी मन्त्रालयको वेबसाइटमा समेत राख्न प्रारम्भ भएको छ,’ उनले भनिन्।
मन्त्रीका अनुसार पछिल्लो समय ग्यास वितरणको संख्या बढ्दै गएको छ। बुधवार ३७ हजार १०६ थान ग्यास सिलिण्डर वितरण भएको थियो। बिहीवार ४० हजार ९५४ सिलिन्डर वितरण भएको छ।