काठमाडौ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास सिलिन्डर लुकाएर कृत्रिम अभाव गराएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।
विभागमा ग्यास सहज नपाएको, ग्यास बिक्रेता तथा डिपोले लुकाएर आफू निकट व्यक्ति, होटल, व्यवसायीलाई मात्र सिलिन्डर उपलब्ध गराएको र तोकिएको भन्दा बढी मूल्यमा बिक्री गरेको गुनासो र उजुरी आइरहेको जनाइएको छ।
विभागले ग्यास सिलिन्डर लुकाई बिक्री वितरण गर्नु, कृत्रिम अभाव सिर्जना गर्नु, कालोबजारी गर्नु ,तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्नु कानून विपरित कार्य भएकोले यस्तो कार्य गर्ने सबै ग्यास बिक्रेता तथा डिपोलाई प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने जनाएको छ।
विभागले यस्तो कार्य गरेको थाहा पाएमा वा उपभोक्ता आफै ठगिएको अनुभूत भएमा नजिकको प्रहरी कार्यालय, जिला प्रशासन कार्यालय वा विभागको टोल फ्रि नम्बर ११३७ मा जानकारी गराउन आग्रह गरेको छ।
विभागले ७.१ को सट्टा १४.२ केजीको एलपीजी ग्यास वितरण हुँदा असहजता देखिएको भन्दै सो समस्या चाँडै समाधान हुने अपेक्षा रहेको जनाएको छ।