BIZMANDU
www.bizmandu.com

टेलिकम कम्पनीले फाइभजी विस्तारका लागि योजना पेस गर्नुपर्ने, प्राधिकरणले दियो ८ बुँदे निर्देशन

२०८३ साउन २२

टेलिकम कम्पनीले फाइभजी विस्तारका लागि योजना पेस गर्नुपर्ने, प्राधिकरणले दियो ८ बुँदे निर्देशन
टेलिकम कम्पनीले फाइभजी विस्तारका लागि योजना पेस गर्नुपर्ने, प्राधिकरणले दियो ८ बुँदे निर्देशन


काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, फ्रिक्वेन्सीको प्रभावकारी उपयोग र उपभोक्ता हित संरक्षणका लागि दूरसंचार सेवा प्रदायकहरुलाई ८ बुँदे निर्देशन जारी गरेको छ।

Tata
GBIME

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार सेवाको गुणस्तर, नेटवर्कको विश्वसनीयता तथा ग्राहक सेवा अनुभवमा सुधार गर्न प्रदायकहरुलाई निर्शेदन दिइएको हो।

प्राधिकरणले तोकेका मापदण्ड पूरा भए/नभएको सम्बन्धी प्रतिवेदन अनिवार्य रुपमा नियमित पेस गर्न भनेको उनले जानकारी दिए।

चौबिसै घण्टा गुनासो सुनुवाइका लागि नयाँ प्रविधि तथा एआईको प्रयोग गर्न, ‘कम्पलेन्ट रिसोसुलसन सिस्टम’ लाई प्रभावकारी बनाउन र ग्राहकहरुको प्रतिक्रिया पनि सर्वेक्षण गर्ने कार्य नियमित संचालन गर्न पनि निर्देशन दिइएको छ।

साथै, गुणस्तरीय सेवा नपुगेका क्षेत्रहरुमा प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्न, औद्योगिक तथा मुख्य शहरी क्षेत्रमा उच्च गतिको ब्रोडब्यान्ड पुर्‍याउन र सेवा पुगेका स्थानहरुको विवरण नेपालको नक्सामा कम्तीमा त्रैमासिक रुपमा अपडेट गर्नुपर्ने भनिएको छ।

प्राधिकरणले देशभर फोरजी सेवाको विस्तार एवं गुणस्तर वृद्धि गर्दै प्रमुख शहरहरुबाट फाइभजी सेवा प्रारम्भ गर्नका लागि चरणबद्ध योजना बनाई प्राधिकरणसमक्ष पेस गर्न निर्देशन पनि दिएको छ।

यससँगै वितरण गरिएको फ्रिक्वेन्सी र दूरसंचार पूर्वाधारको अधिकतम एवं प्रभावकारी उपयोग गरेर दोहोरो लगानी न्यूनीकरण गर्नुपर्ने निर्देशनमा उल्लेख छ।

प्राधिकरणबाट अनुदान प्राप्त गरेर संचालित आयोजनाहरुको उद्देश्य, समय सीमार र केपीआई निर्धारण गरेर कार्यान्वयन गर्ने र नियमित प्रगति प्रतिवेदन पेस गर्न पनि भनिएको छ।

साथै, नेटवर्कको सुरक्षाका लागि नियमित सेक्युरिटी अडिट, डिजास्टर रिकभरी र बिजनेस कन्टिन्यूटी प्लान तयार गरेर लागू गर्नुपर्ने उल्लेख छ।

प्राधिकरणले वैज्ञानिक, पारदर्शी र बजारमुखी शुल्क प्रणालीका लागि कस्ट बेस्ड ट्यारिफ एनालाइसिस गरेर आवश्यक शुल्क प्रस्ताव पेस गर्न पनि भनिएको छ।