काठमाडौं। गत मंगलबार दिउँसो आगोको लप्काले डढेको मलका भित्ताहरू देख्दा पिन्टु राउत भावुक बने। बीमाको सर्वे टोलीसहित पुगेका उनलाई त्यहाँ दुई घण्टा बिताउन कठिन भयो। उनलाई उकुसमुकुस भयो। घरि माथि हेर्थे, घरि भित्ता। धुवाँको नमीठो गन्ध त छदै थियो।
सिरहा गोलबजारस्थित एबी मल, जुन साउन १४ गते एकाएक जलाइयो। हिन्दु-मुस्लिमबीच सुनसरीमा सुरु भएको विवाद सिरहासम्म फैलिंदा निशानामा पर्यो एबी मल।
हिंसात्मक मुठभेड र अनियन्त्रित सुरक्षा व्यवस्थाले एक किशोर मारिए। गोलबजारमा गोली चल्यो। त्यहीं रहेको मल आगजनीको शिकार भयो। पोहोर जेनजी आन्दोलनमा भाटभटेनी सुपरमार्केटमा जस्तै एबी मलमा आगो लाग्यो।
हो, त्यही मलका प्रमुख कार्यकारी अधिकृत थिए राउत। अरु व्यवसायमा केन्द्रित भएका कारण उनले सीइओ छाडेका थिए। तर, उनी दुई/तीन दिनको अन्तरमा मल पुगिरहन्थे। त्यहाँको अवस्थाबारे उनले भने, ‘छिर्न नसक्ने अवस्था छ। मलाई त्यहाँ केही समय बिताउन पनि गाह्रो भयो।’
गत वर्ष भदौ २३ को घटनालाई लिएर भोलिपल्ट भाटभटेनी सुपर मार्केटका चेन जसरी हिंसाको शिकार भए, ठ्याक्कै त्यही दृश्य दोहरियो एबी मलमा। पहिले मलभित्रको सामान लुटियो, त्यसपछि भवनमा आगजनी। अहिले पूरै भवन क्षतिग्रस्त छ।

शहरीकरणसँगै सिरहामा सुविधा सम्पन्न मल स्थापना गर्न चाहन्थे जागिर अन्सारी। अन्सारी र उनको परिवार दुबई बस्छन्। आगजनीको त्रासदीपूर्ण घटनापछि उनी आइतबार नेपाल फर्किँदै छन्।
दुबईमा व्यापारबाट कमाएको केही पैसा हालेर उनले आफू जन्मिएको स्थानमा सुविधा सम्पन्न मल स्थापना गर्ने योजना अनुसार गोलबजारको किनमेल संस्कृतिमा नयाँ परम्परा स्थापना गर्न २०७६ असोज ६ गतेबाट एबी मल संचालनमा ल्याए।
मल सञ्चालन आएको केही समयमा नै कोरोनाको संक्रमणले विश्वलाई गाँज्यो। व्यावसाय सुरु भएको पहिलो वर्षले नै कारोबारमा नराम्ररी धक्का हान्यो। कोभिड सकियो तर लामो समय त्यसको असर पररह्यो।
पछि विस्तारै सबै सुधारको बाटोतिर लाग्दै थियो। कारोबारले गति लिन थालेको थियो। जेनजी मुभमेन्टले फेरि अर्को धक्का दियो। व्यापार फेरि खस्कियो। १०० भन्दा धेरै कर्मचारी रहेको मलबाट आधा जति कर्मचारी हटाउनुपर्ने अवस्था आयो। फेरि व्यवसाय उठाउने र पहिलेभन्दा धेरै कर्मचारी थप्ने योजनामा गर्मीको सिजनमै तुषारापात हुन पुग्यो।
साउन १४ गते बिहीबार जे भयो त्यसपछि एबी मल उठ्नै नसक्ने अवस्थामा पुगेको पिन्टु बताउँछन्। मलभित्र रहेका ग्रोसरी देखिदेखि फर्निचरसम्म खरानी भए। मल २९ हजार वर्गफिटमा फैलिएको थियो।
गोलबजार-४ मा मल मात्र होइन, यसका लगानीकर्ता अन्सारीको घरमा पनि आगजनी गरिएको छ। ‘मलमात्र होइन उहाँको घरमा पनि आगजनी भएको छ। उहाँहरू कोही पनि बोल्न चाहनुहुन्न,’ पिन्टुले सुनाए।
पूर्वबाट सल्किँदै आएको दंगाको आगो पश्चिमतिर आउँदा यति भयावहपूर्ण हुने संकेत थिएन। बिहान साढे १० बजे बजारमा सामान्य झडप भयो। त्यतिखेर मलका सिसामात्र फुटेका थिए।
तर, साढे २ बजेतिर गोली लागि गणेश यादवको मृत्यु भएपछि अवस्था एकाएक हिंसात्मक भयो। त्यसपछि एबी मलमा लुटपाट अनि आगजनी। भाटभटेनीका स्टोरमा जे भएको थियो त्यसैको कपिक्याट।
‘साढे १० बजे नै सामान्य तोडफोड भएको जानकारी त आयो। तर थप केही नहोला भन्ने थियो,’ पिन्टुले भने,’पछि लुटपाट र आगजनी।’

यतिखेर अवस्था सामान्य बन्दै गएको छ। तर, सुरक्षाको प्रत्याभूति कसैले गर्न सकिरहेका छैनन्। सुरक्षा नभइ व्यापार व्यावसाय खोल्न सक्ने स्थिति बनिसकेको छैन। शून्यमा पुगेका अन्सारीलाई फेरि खरानीबाट उठ्नुपर्ने बाध्यता छ।
एबी मलको भवन निर्माण गर्दा साढे ५ करोड रुपैयाँ ऋण लिइएको थियो। २१ करोडभन्दा बढी लगानीमा बनाएको भवनको भ्यालुएसन भने ११ करोड ६० लाख रुपैयाँ भएकाले सोही अनुसार बीमा गरिएको पिन्टुले जानकारी दिए।
त्यस्तै, मलमा १२ करोड रुपैयाँ बराबरको सामानको बीमा गरिएको थियो। आगजनी भएको दिन बिहीबार मलभित्र करिब पौने ११ करोड रुपैयाँ बराबरका सामान थिए। यी सामानबाहेक कार्यालय प्रयोजनका धेरै सामग्री बीमाको दायराभन्दा बाहिर थिए।
‘बीमाले मात्र कभर गर्न सक्ने अवस्था छैन। फेरि त्यो रकम लिन कति सकस होला?,’ पिन्टु भन्छन्।