BIZMANDU
www.bizmandu.com

भ्युजबाट भेन्चरसम्म इस्टु कार्कीको नयाँ यात्रा, यसरी जन्मियो- फ्लीप एन्ड इट

२०८३ साउन २२

भ्युजबाट भेन्चरसम्म इस्टु कार्कीको नयाँ यात्रा, यसरी जन्मियो- फ्लीप एन्ड इट
भ्युजबाट भेन्चरसम्म इस्टु कार्कीको नयाँ यात्रा, यसरी जन्मियो- फ्लीप एन्ड इट


काठमाडौं। क्यामेराअघिको मुस्कान, सामाजिक सञ्जालमा लाखौं दर्शक र अहिले आफ्नै व्यवसायको जिम्मेवारी। इस्टु कार्कीका लागि यो यात्रा केवल लोकप्रियताबाट सफलताको कथा होइन, सपनालाई समयसँगै नयाँ आकार दिंदै जाने एउटा निरन्तर प्रयास हो।

Tata
GBIME

कुनै समय कलाकार बन्ने सपना बोकेर सर्लाहीको हरिपुरबाट काठमाडौं छिरेकी इस्टु अहिले आफ्नै व्यवसायको नेतृत्व सुरु गरेकी छन्। इस्टु सोसल मिडिया प्रयोगकर्ता नेपालीमाझ कन्टेन्ट क्रिएटरमा परिचित युवा अनुहारमा पर्छिन्। उनी कहाँ जान्छिन्, के भन्छिन्, के देखाउँछिन् भनेर सामाजिक सञ्जालमा चासो राख्ने थुप्रै छन्।

यिनै इस्टु कन्टेन्ट क्रिएटरबाट अब व्यवसायी बन्ने बाटोमा हिंडेकी छन्। अभिनयको रहरले काठमाडौं आइपुगेकी उनलाई रंगमञ्चले कथा, पात्र र समाज बुझ्न सिकायो। सामाजिक सञ्जालले आफ्नै कथा भन्न सिकायो। अनि त्यही सामाजिक सञ्जालबाट बनेको पहिचानले उनलाई व्यवसायको ढोकासम्म ल्याइ पुर्‍यायो।

काठमाडौंको अनामनगरमा खुलेको ‘फ्लीप एन्ड इट’ उनको त्यही नयाँ यात्राको सुरुवात हो। कन्टेन्ट क्रियसनबाट गरेको आम्दानीलाई आफ्नै नयाँ व्यवसायमा लगानी गरेकी इस्टु अब स्क्रिनमा मात्र होइन, व्यवसायको मैदानमा पनि आफूलाई परीक्षण गर्दैछिन्। उनी अहिले जहाँ आइपुगेकी छन्, सजिलै र झट्टै आइपुगेकी होइनन्।

कलाकारको सपनादेखि कन्टेन्ट क्रियटरसम्म

शिक्षक बुबा र गृहिणी आमाका दुई सन्तानमध्येकी जेठी इस्टुको बाल्यकालदेखि नै कलाकार बन्ने सपना थियो। काठमाडौं उनका लागि सपनाको शहर थियो। त्यही सपना बोकेर उनी २०७४ सालतिर काठमाडौं आइन् र रंगमञ्चमा आफूलाई खोज्न थालिन्।

सामान्य परिवारबाट आएकी इस्टुका लागि काठमाडौंको यात्रा सहज थिएन। न कलाकारितामा अघि बढ्न सजिलो पहुँच थियो, न त पर्याप्त आर्थिक आधार। तर, कठिनाइले उनको सपना रोक्न सकेन।

थियटरसँगै उनले म्युजिक भिडियो, सिरियल र फिल्ममा पनि काम गरिन्। ‘थिएटर गर्दा नाटक पनि लेखें, विभिन्न निर्देशककहाँ धाएँ। दाइ मैले नाटक लेखेको छु, पढेर यसमा लगानी गरिदिनु भनें, तर कसैले सुनेनन्,’ उनी भन्छिन्।

अवसरको खोजीमा हिंड्दा उनले एउटा कुरा बुझिन्, ‘कलाकारिता केवल अभिनय गर्नु मात्र होइन, समाज बुझ्नु, मानिस बुझ्नु र पात्रको मनोविज्ञान बुझ्नु पनि रहेछ।’

‘थिएटर गर्दा कति पटक म पात्रभित्र छिर्न नै सकिन। अभिनय गर्न मात्रै जानेर नहुने रहेछ, पढ्नुपर्ने रहेछ। सिनियरहरुले पढिरहेको देखेर मैले पनि पढ्न थालें,’ इस्टु भन्छिन्।

झन्डै चार वर्ष रंगमञ्चमा बिताउँदा उनले धेरै कुरा सिकिन्। तर, अपेक्षित अवसर नपाएपछि आफूलाई अर्को माध्यममा परीक्षण गर्ने सोच पलायो । त्यही बेला सामाजिक सञ्जाल उनको नयाँ मञ्च बन्यो।

कोभिड महामारीले संसार थुनियो। तर, इस्टुका लागि त्यही समय नयाँ सम्भावनाको ढोका बन्यो। घरमै बसेर उनले भिडियो सम्पादन सिकिन्, स्क्रिप्ट लेखिन् र आफ्नै कन्टेन्ट बनाउन थालिन्।

कोभिडले खोलिदिएको नयाँ ढोका

कोभिड महामारीले संसार थुनियो। तर, इस्टुका लागि त्यही समय नयाँ सम्भावनाको ढोका बन्यो। घरमै बसेर उनले भिडियो सम्पादन सिकिन्, स्क्रिप्ट लेखिन् र आफ्नै कन्टेन्ट बनाउन थालिन्। अभिनय गर्न सक्ने र स्क्रिप्ट लेख्न सक्ने आत्मविश्वास उनीसँग पहिले नै थियो। अब त्यसलाई आफ्नै शैलीमा प्रस्तुत गर्ने माध्यम पनि भेटियो।

‘आफैंले स्क्रिप्ट लेखेर इडिट गर्न थालेपछि म अब रेडी भएँ है भन्ने महसुस भयो,’ उनी भन्छिन्, ‘तर फेरि टिकटकमा गर्ने र? भन्ने लाग्दालाग्दै पनि आफू ठिक छु भने आखिर प्लेटफर्म जुन भए पनि के फरक पर्छ भन्ने लागेर सुरु गरें। पहिलो भिडियो नै चर्चित भयो।’

पहिलो भिडियोले नै राम्रो प्रतिक्रिया पाएपछि उनले पछाडि फर्केर हेर्नुपरेन। टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा उनको प्रस्तुति र शैली दर्शकले रुचाउँदै गए। बिस्तारै इस्टु केवल सोसल मिडिया कन्टेन्ट क्रिएटर मात्र रहिनन्, एउटा ब्रान्ड बन्न थालिन्।

स्क्रिनमा देखिने उनको सहजता, अभिनय क्षमता र सिर्जनात्मक शैलीले उनलाई धेरै दर्शकसम्म पुर्‍यायो। सामाजिक सञ्जालबाट बनेको यही पहिचान पछि उनको व्यावसायिक यात्राको महत्त्वपूर्ण आधार बन्यो।

व्यवसायीका अनुभव सुन्दा उत्साह पनि आउँथ्यो, असफलताका कथा सुन्दा डर पनि लाग्थ्यो। तर, समयसँगै उनले एउटा कुरा महसुस गरिन्- जोखिम नलिए नयाँ कुरा सुरु गर्न सकिंदैन।

आफ्नै ब्रान्ड भए हुन्थ्यो!

कन्टेन्ट क्रियसनबाट राम्रो आम्दानी भइरहेकै बेला इस्टुलाई व्यवसाय गर्ने सोच आएको अचानक होइन। विभिन्न ब्रान्डसँग काम गर्ने क्रममा उनले धेरै व्यवसायीलाई नजिकबाट नियाल्ने अवसर पाइन्। कुनै व्यवसायको प्रचार गर्दा कहिलेकाहीँ उनलाई लाग्थ्यो- अरूको ब्रान्डका लागि काम गरिरहेकी छु, कुनै दिन आफ्नै ब्रान्ड बनाउन पाए कस्तो होला?

‘आफन्तहरुले बिजनेस गर तिम्रो लोकप्रियतालाई क्यासमा कन्भर्ट गर्ने समय यही हो भन्नुहुन्थ्यो। मलाई भने कसैको कपडाको व्यापार देख्दा यही गरौं कि, चिया पसल जाँदा चिया पसल गरौं, जे देख्यो त्यही गरौंगरौं जस्तो हुन्थ्यो,’ इस्टु भन्छिन्।

व्यवसायीका अनुभव सुन्दा उत्साह पनि आउँथ्यो, असफलताका कथा सुन्दा डर पनि लाग्थ्यो। तर, समयसँगै उनले एउटा कुरा महसुस गरिन्- जोखिम नलिए नयाँ कुरा सुरु गर्न सकिंदैन।

‘व्यवसायीको कुरा सुन्दा गरिहालुँ जस्तो लाग्थ्यो। तर, आँट भए पनि खुट्टा उचालिहाल्न भने निकै गाह्रो हुने रहेछ। सफल व्यवसायी देख्दा आँट आए पनि असफल व्यवसायीका कुरा सुन्दा अलि डर लाग्ने रहेछ। फेरि रिस्क लिन सक्यो भने बिजनेस गर्न सकिन्छ भन्ने भयो,’ उनले भनिन्।

इस्टुका लागि व्यवसाय सुरु गर्नु केवल आम्दानी बढाउने माध्यम थिएन। कन्टेन्टबाट बनेको पहिचानलाई दीर्घकालीन यात्रामा रूपान्तरण गर्ने एउटा प्रयास पनि थियो। ‘कन्टेन्ट क्रियसन सधैं एउटै गतिमा चलिरहन्छ भन्ने हुँदैन, त्यसैले भविष्यका लागि आफ्नै व्यवसाय पनि हुनुपर्छ’ भन्ने सोचले अन्ततः निर्णय लिन प्रेरित गर्‍यो ।

उनको सोच सरल छ- खाना खान आउने ठाउँ मात्र होइन, केही समय आफ्नै लागि बिताउन सकिने ठाउँ बनाउने।

यसरी जन्मियो- फ्लीप एन्ड इट

इस्टुको प्रारम्भिक सोच क्याफेभन्दा फरक थियो। उनले ‘ग्लिच एन्ड फ्लीप’ नामबाट क्लोदिङ व्यवसायको अवधारणासमेत बनाइन्। तर, व्यवसायका लागि ठाउँ खोज्ने क्रममा उनको सोच बदलियो। क्याफेका लागि उपयुक्त स्थान भेटिएपछि उनले आफ्नो योजना परिवर्तन गरिन्। र, जन्मियो- फ्लीप एन्ड इट।

जीवनमा आउने आरोह अवरोहमा आफूलाई जुझारु बनाउन सक्नुपर्छ, अनि मात्रै गन्तव्यको यात्रा सहज हुन्छ भन्ने उनलाई राम्रोसँग थाहा छ। त्यसैले उनको मनमा गडेको ब्राण्ड हो- फ्लीप एन्ड इट।

‘लाइफमा कति उतारचढाव आए। अब यो अवस्थाबाट कसरी स्विच गर्ने भन्ने सोचिरहन्थें र आफूलाई तत्काल स्विच गर्न पनि सिकें। त्यसैलाई मिनिङ दिन मन लागेर ग्लिच एन्ड फ्लीप क्लोदिङ बिजनेस गर्न मन थियो। तर, आफ्नै ट्रेडमार्क बनाएर अघि बढ्नुपर्छ भनेर यही नामलाई मिलाएर फ्लीप एन्ड इट राखें,’ इस्टु भन्छिन्।

उनका लागि यो केवल खाना र कफी बेच्ने ठाउँ होइन। आफ्नो रुचि, सोच र सिर्जनशीलतालाई व्यवसायसँग जोड्ने एउटा प्रयास हो। कफी, विभिन्न पेय पदार्थ र खानाका परिकारसँगै ग्राहकले सहज महसुस गर्न सकुन् भन्ने उनको चाहना छ। अझ रोचक पक्ष, क्याफेको वातावरणलाई पुस्तक पढ्ने संस्कृतिसँग जोड्न उनले लाइब्रेरी कर्नर समेत राखेकी छन्।

विद्यार्थीदेखि कार्यालयमा काम गर्नेहरू र पुस्तक पढ्दै केही समय शान्तसँग बिताउन चाहनेहरूलाई लक्षित गर्दै उनले क्याफेको वातावरण बनाउने प्रयास गरेकी छन्। उनको सोच सरल छ- खाना खान आउने ठाउँ मात्र होइन, केही समय आफ्नै लागि बिताउन सकिने ठाउँ बनाउने।

रेस्टुरेन्टको योजना बनाउँदादेखि तयारी गरेर सञ्चालनमा ल्याउँदासम्म उनलाई ठूलो सिकाइ भएको छ। ‘योजना बनाउनु र त्यसलाई वास्तविकतामा उतार्नुबीच ठूलो अन्तर हुँदोरहेछ,’ उनी भन्छिन्।

करिब आधा करोडको जोखिम

व्यवसाय सुरु गर्नु निर्णय लिन जति सजिलो थिएन। क्याफेका लागि करिब आधा करोड रुपैयाँ लगानी गर्ने योजनासहित इस्टु अघि बढिन्।

लगानी आफ्नै कन्टेन्ट क्रियसनबाट आर्जन गरेको आम्दानीबाट गरिएको उनी बताउँछिन्। क्याफेको अवधारणादेखि डिजाइनसम्ममा उनी आफैं संलग्न भइन्। विभिन्न स्थापित क्याफे तथा रेस्टुरेन्टको अवलोकन गरिन्। बजार बुझिन्। आफूले के फरक गर्न सक्छु भनेर सोचिन्।

‘क्याफेमा आफैं खटेर ग्राहकको चाहनाअनुसारको खाना तयार गर्छु। अहिले कफी, वेभरेज र फुड प्रोभाइड गरेको छु,’ उनी उत्साहित सुनिन्छिन्, ‘म आफैं बसेर खाना बनाउने र आफूलाई मिठो लागेको सर्भ गर्ने र ग्राहकले रुचाएपछि यसलाई बढाउँदै लैजाने योजना छ।’

रेस्टुरेन्टको योजना बनाउँदादेखि तयारी गरेर सञ्चालनमा ल्याउँदासम्म उनलाई ठूलो सिकाइ भएको छ। ‘योजना बनाउनु र त्यसलाई वास्तविकतामा उतार्नुबीच ठूलो अन्तर हुँदोरहेछ,’ उनी भन्छिन्, ‘रेनोभेसनदेखि कर्मचारी व्यवस्थापनसम्म, सामान खरिददेखि दैनिक सञ्चालनसम्म- हरेक चरणमा नयाँ चुनौती आए।’

व्यवसाय सुरु गर्दाको सबैभन्दा ठूलो सिकाइका रूपमा उनले धैर्यलाई लिएकी छन्। सटर खोलेको केही दिनमै नाफा खोजेर व्यवसायको मूल्यांकन गर्न नहुने उनको बुझाइ छ। उनको नजर तत्कालको प्रतिफलमा भन्दा लामो यात्रामा छ।

कन्टेन्टमा प्रतिक्रिया केही सेकेन्ड वा मिनेटमै देखिन सक्छ। व्यवसायमा ग्राहकको अनुभव, स्वाद, सेवा, मूल्य, वातावरण र निरन्तरताले निर्णय गर्छ। त्यसैले सोसल मिडियाबाट आर्जित विश्वासलाई व्यवसायमा टिकाइराख्नु ठूलो चुनौती हो।

लोकप्रियता ग्राहकसम्म पुग्ने बाटो हो, गन्तव्य होइन

इस्टुका लागि सामाजिक सञ्जालको लोकप्रियता व्यवसायमा प्रवेश गर्दा ठूलो फाइदा बनेको छ। उनलाई सामाजिक सञ्जालबाट चिन्ने दर्शक अहिले उनको क्याफेसम्म पुग्न सक्छन्। तर, उनी आफैं पनि बुझ्छिन ‘भ्युज र फलोअर्सले मात्र व्यवसाय चल्दैन।’

कन्टेन्टमा दर्शकको प्रतिक्रिया केही सेकेन्ड वा मिनेटमै देखिन सक्छ। व्यवसायमा भने ग्राहकको अनुभव, स्वाद, सेवा, मूल्य, वातावरण र निरन्तरताले निर्णय गर्छ। त्यसैले सामाजिक सञ्जालबाट बनेको विश्वासलाई वास्तविक व्यवसायमा टिकाइराख्नु उनका लागि अर्को चुनौती हो।

केही समय चर्चामा रहेका अनुहार समयसँगै ओझेलमा परेका उदाहरण सामाजिक सञ्जालमा धेरै छन्। इस्टुको व्यवसायमा प्रवेशलाई यही बदलिँदो डिजिटल दुनियाँलाई बुझ्ने प्रयासका रूपमा पनि हेर्न सकिन्छ। हाइप स्थायी हुँदैन, तर त्यसबाट सिर्जना गरेको अवसरलाई दीर्घकालीन सम्पत्तिमा बदल्न सकिन्छ। सायद यही सोचले उनलाई व्यवसायसम्म ल्याइ पुर्‍याएको हो।

व्यवसाय सुरु गर्नु आफैंमा एउटा सिकाइ हो। सफल भयो भने अनुभव र अवसर थपिनेछ, चुनौती आयो भने त्यसबाट नयाँ पाठ सिकिनेछ।

‘सधैं एउटै काम गरे थाकिन्छ’

इस्टु आफूलाई एउटै काममा सीमित राख्न चाहँदिनन्। कन्टेन्ट क्रियसन पहिचान हो, व्यवसाय नयाँ अध्याय। उनको बुझाइमा मानिस समय र प्रविधिसँगै परिवर्तन हुन सक्नुपर्छ। लामो समय एउटै काम गर्दा थकान आउन सक्छ, त्यसैले आफूभित्र नयाँ कुरा सिक्ने र नयाँ काम गर्ने क्षमता जोगाइराख्नुपर्छ।

तर, यसको अर्थ उनले कन्टेन्ट क्रियसन छोड्ने होइन। क्यामेरा र क्याफे दुवैलाई सँगसँगै अघि बढाउने योजना छ। कन्टेन्टले उनको व्यक्तिगत ब्रान्डलाई बलियो बनाउनेछ भने व्यवसायले त्यसलाई अर्को आयाम दिनेछ।

व्यवसायमा जोखिम छ भन्ने कुरा इस्टुलाई राम्रोसँग थाहा छ। तर, जोखिमकै कारण प्रयास नगर्नु पनि उनलाई सही लाग्दैन। व्यवसाय सुरु गर्नु आफैंमा एउटा सिकाइ हो। सफल भयो भने अनुभव र अवसर थपिनेछ, चुनौती आयो भने त्यसबाट नयाँ पाठ सिकिनेछ।

आजको भोलि कुनै पनि कामको रिजल्ट खोज्नु हुँदैन। ब्रेक डाउन भइहाल्दा आत्तिने हो भने अगाडि बढ्न गाह्रो हुन्छ। मानसिक रुपमा स्ट्रोङ भएर काम गर्ने हो भने सकिन्छ,’ उनी भन्छिन्।

एउटा कुरा भने स्पष्ट छ- इस्टुका लागि भ्युज अब केवल संख्या होइन। ती भ्युजबाट बनेको विश्वास, विश्वासबाट जन्मिएको अवसर र अवसरलाई व्यवसायमा बदल्ने साहस हुन्।

सपना–एउटा ब्रान्ड

‘फ्लीप एन्ड इट’ इस्टुका लागि अन्तिम गन्तव्य होइन। उनी भविष्यमा यही व्यवसायलाई विस्तार गर्ने र अन्य क्षेत्रमा समेत लगानी गर्ने सोचमा छिन्।

उनले आफ्नै जन्मथलो सर्लाहीमा घर निर्माणको काम पनि अघि बढाइरहेकी छन्। उनकै शब्दमा ‘जेब्रा झोला बोकेर कलाकार बन्ने सपनासँगै काठमाडौं आएकी एउटी युवती आज आफ्नै व्यवसायको नेतृत्व गरिरहेकी छन्। रंगमञ्चबाट सुरु भएको उनको सपना अझै पूरा भएको छैन।’

सायद पाँच वर्षपछि उनी क्यामेराअघि उभिएकी देखिनेछिन्, सायद आफ्नै ब्रान्ड विस्तारको नेतृत्व गरिरहेकी हुनेछिन्। वा सम्भवतः दुवै कामलाई नयाँ ढंगले जोडिरहेकी हुनेछिन्।

तर, एउटा कुरा भने स्पष्ट छ- इस्टुका लागि भ्युज अब केवल संख्या होइन। ती भ्युजबाट बनेको विश्वास, विश्वासबाट जन्मिएको अवसर र अवसरलाई व्यवसायमा बदल्ने साहस हुन्।

स्क्रिनबाट सुरु भएको उनको यात्रा अहिले स्टार्टअपको ढोकामा पुगेको छ। ‘यो फ्लीपलाई टाढासम्म पुर्‍याउनु छ। कन्टेन्ट बनाउनुभन्दा व्यावसायिक जिम्मेवारी वहन गर्नु धेरै फरक कुरा रहेछ,’ इस्टुले भनिन्।