काठमाडौं। पूर्वाधार क्षेत्रका लागि आवश्यक श्रमिक व्यवस्थापनका लागि सरकारले कम्पनी खडा गर्ने भएको छ। सरकारले निर्माण व्यवसायी समेतको संलग्नतामा कम्पनी खडा गर्ने भएको हो।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र श्रममन्त्री रामजी यादवले बिहीबार नेपाल निर्माण व्यवसायी महासंघको टोलीसँगको छलफलमा निजी क्षेत्रको ७० प्रतिशत र सरकारको ३० प्रतिशत लगानीमा कम्पनी खडा गर्ने बताए।
यसको तयारी अगाडि बढाउन पूर्वाधार विकास मन्त्रालयका कर्मचारीको संयोजकत्वमा एक समिति गठन गर्ने र पूर्वाधार क्षेत्रका लागि आवश्यक जनशक्तिको वास्तविक तथ्यांक महासंघले उपलब्ध गराउने समझदारी भएको छ।
मन्त्री लम्साल र यादवले कम्पनी खडा गरेपछि विकराल बन्दै गएको बेरोजगारी समस्या हल गर्न सहयोग पुग्ने दाबी गरे।
महासंघका अध्यक्ष निकोलश पाण्डेले पूर्वाधार क्षेत्रमा श्रमिकको व्यवस्थापनका लागि कम्पनी खडा गर्ने सरकारी तयारीको स्वागत गर्दै नेपाली कम्पनीलाई विदेशमा निर्माण कार्यका लागि कामदार लैजानका लागि सहजीकरण गरिदिन श्रममन्त्री यादवको ध्यानाकर्षण गराए।