काठमाडौं। सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक बिहीबार १३.८२ अंक घटेर २६५४.१५ विन्दुमा आएको छ। कारोबारमा आएकामध्ये व्यापार बाहेक सबै उपसमूह घट्दा सूचक प्रभावित भएको हो।
२०२ कम्पनीको सेयर मूल्य घटेको छ। घटेकामध्ये स्नो रिभरका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतले गुमाएका छन्। सूचक घटे पनि बजारमा कारोबार रकम भने बढेको छ।
बुधबार सूचक ४.७९ अंकको झिनो बढोत्तरीसँगै २६६७.९७ विन्दुमा रहँदा ४ अर्ब ४० करोड रुपैयाँको सेयर किनबेच भएको थियो। बिहीबार दोहोरो अंकले घट्दा पनि रकम बढ्दै ४ अर्ब ६२ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ।
बिहीबार रिडी पावर कम्पनीको सबैभन्दा धेरै ४७ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आँखु खोला जलविद्युतको २६ करोड ५९ लाख र सोलु हाइड्रोपावरको २३ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
बजारमा ६४ कम्पनीको सेयर मूल्य बढ्दा १० कम्पनीको स्थिर रह्यो। बढेकामध्ये अपर लोहोरे खोला हाइड्रोपावरको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।