काठमाडौं। भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ नेपाल आउने भएका छन्। नेपाली सेनाको औपचारिक निमन्त्रणामा उनी साउन ३१ गते नेपाल आउन लागेका हुन्।
नेपाल बसाइको पाँचदिने तालिकामा उनले नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्न समेत ग्रहण गर्ने छन्। राष्ट्रपति रामचन्द्र पौडेलले दर्ज्यानी चिह्न प्रदान गर्ने छन्। नेपाल-भारत सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानीको चिन्ह प्रदान गर्ने परम्परा छ।
नेपाली सेनाको प्रमुख भएपछि २०८१ मंसिरमा अशोकराज सिग्देल नौ सदस्यीय टोलीसहित भारत गएका थिए। भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह ग्रहण गरेका थिए।
नेपाली सेनाका प्रमुख सिग्देलले भारतीय सेना प्रमुख नेपाल आउनेबारे प्रधानमन्त्री वालेन्द्र शाहलाई पनि जानकारी गराएका छन्। प्रधानमन्त्री शाह र भारतीय सेना प्रमुखबीच भेटवार्ताको समय पनि तय भइसकेको सैनिक स्रोतले जानकारी दिएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने औपचारिक रुपमा कार्यक्रम तय नभइसकेको बताए। ‘अहिले औपचारिक समय तालिका बनेको जानकारी छैन। बनेपछि हामी जानकारी दिन्छौँ,’ बस्नेतले भने।
जनरल धीरज सेठ भारतीय सेनाका ३१ औँ थलसेनाध्यक्ष हुन्। उनले गत जुन ३० मा पूर्व सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको अवकाशपछि भारतीय सेनाको नेतृत्व सम्हालेका हुन्।