काठमाडौं। गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन अस्वीकार गरेका छन्।
राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले एउटै विषयमा दोहोर्याएर प्रश्न गरेपछि सुधनले जवाफ दिन अस्वीकार गरेका हुन्।
विश्वकर्माले सुरुमा सुधनसमक्ष ‘निर्मला पन्तको हत्या प्रकरणमा दोषी पत्ता लगाइ न्याय दिन नसक्नुको कारण के हो? यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको हो?’ भनी सोधेका थिए।
सुधनले यो एकदम संवेदनशील विषय भएकाले सांसदहरुलाई सदनमा प्रश्न नगर्न आग्रह गरे। उनले सदनमा उठाइने प्रश्नले निर्मलाकी आमालाई थप पीडा हुने भन्दै व्यक्तिगत रुपमा प्रश्न गरे मात्र जवाफ दिने बताए।

‘यो विषय एकदमै सेन्सेटिभ छ। यो प्रश्न म हजुरहरुलाई पनि सोध्न चाहन्छु। हजुरहरु सत्तामा हुँदा किन नगर्नुभएको? अहिले एउटा आमाको घाउलाई कोट्यारहने हो कि चरणबद्ध रुपमा अनुसन्धान गरेर रिजल्ट दिने हो। दिनहुँ सम्झाउँदा मजा आउँछ त? तपाइँलाई शान्ति हुन्छ त?,’ उनले भने, ‘यसमा धेरै कुरा बोल्न सक्दिन। बोल्दा उचित हुँदैन। अनुसन्धान भइरहेको छ। यो प्रश्न राष्ट्रिय सभा र प्रतिनिधि सभामा नउठाइदिन आग्रह गर्छु। मलाई भेटेर सोध्दा हुन्छ। यसको जवाफ मसँग छ।’
त्यसपछि सांसद विश्वकर्माले पूरक प्रश्न गरे। उनले सुधनमाथि आफ्नो विधायकी अधिकार हनन् गरेको आरोप लगाए। उनले फेरि ‘अबको कति दिनमा निर्मलाले न्याय पाउँछिन्?’ भनी प्रश्न गरे।
‘मन्त्रीज्यूले बोल्दै गर्दा मेरो विधायकी अधिकार हनन भएको महशुस गरेको छु। मैले प्रश्न गर्ने र मन्त्रीले उत्तर दिने यो संसदीय प्रणालीमा भइरहने कुरा हो। त्यसैले मैले प्रश्न गर्न पाउनुपर्छ। मन्त्रीज्यूले उत्तर दिनैपर्छ। सरकार गठन भएको ४ महिना नाघ्यो। अबको कति दिनमा निर्मलाले न्याय पाउँछिन्?,’ विश्वकर्माले सोधे।
लगत्तै मन्त्री सुधनले ‘म यसको उत्तर दिन चाहँदिन’ भने।
त्यसपछि विश्वकर्माले सुधनलाई अर्कै विषयमा प्रश्न गरेका थिए।