BIZMANDU
www.bizmandu.com

ज्योति विकास बैंकले नेपालपे कार्ड जारी गर्ने, एनसीएचएलसँग भयो सम्झौता

२०८३ साउन २१

ज्योति विकास बैंकले नेपालपे कार्ड जारी गर्ने, एनसीएचएलसँग भयो सम्झौता
ज्योति विकास बैंकले नेपालपे कार्ड जारी गर्ने, एनसीएचएलसँग भयो सम्झौता


काठमाडौं। ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्ने भएको छ।

Tata
GBIME

यसका लागि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सेवा इनेबल गर्ने सम्झौता गरेको छ।

एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

यस सम्झौतासँगै ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्न सक्नेछ। साथै, बैंकले डिस्कभर नेटवर्कअन्तर्गतका अन्तर्राष्ट्रिय कार्ड र रुपे कार्डको अक्वायरिङ गर्दै नेपालपे कार्डका कारोबार पनि प्रोसेस गर्न सक्नेछ।

एनसीएचएलको इएफटी कार्ड स्वीच यसअघि नै नेशनल कार्ड स्वीच (एनपीएस-एनसीएस)सँग एकीकृत भइसकेको छ। यही पूर्वाधारका कारण बैंकहरूले सहज रूपमा नेपालपे कार्ड सेवा संचालन गर्न सक्ने भएका हुन्।

एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरेको छ। अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यपछि नेपालपे कार्ड नेपालसँगै विदेशमा पनि प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकले जारी गर्ने नेपालपे कार्ड नेपाल र विदेशका एटीएम तथा पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिनेछ।

हाल एनसीएचएलको इएफटी कार्ड सर्भिसमार्फत ११ वटा सदस्य बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किमका कारोबार प्रोसेस गर्दै आएका छन्। इएफटी र नेशनल पेमेन्ट स्वीचबीचको एकीकरणपछि अब यही प्रणालीमार्फत नेपालपे कार्डका कारोबार पनि संचालन हुने भएका छन्।

इएफटीका अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरू पनि नेपालपे कार्ड जारी र अक्वायरिङ सेवाको तयारीमा छन्। हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे नेटवर्कमा आबद्ध भइसकेका छन् र रोलआउटका विभिन्न चरणमा छन्।

८ वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गर्न सुरु गरिसकेका छन्। त्यस्तै, ११ भन्दा बढी बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्डको अक्वायरिङ सेवा संचालनमा ल्याइसकेका छन्।