काठमाडौं। ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। उपचारको क्रममा घाइते महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
त्यस्तै १९ जना घाइते भएका छन्। मृत्यु हुनेमा ४० वर्षीया जेनिशा लामा रहेको प्रहरीले जनाएको छ। घाइतेको बी एन्ड बी र ग्लोबल अस्पतालमा उपचार भइरहेको छ। एक जनाबाहेक अन्यको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
आज बिहान करिब साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतिर आइरहेको बा १ ख ३५९० नम्बरको बस फ्लाईओभरमा ठोक्किँदा दुर्घटना भएको हो।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।