चितवन। निर्माण सुरु गरेको झण्डै ७ वर्षको अवधिमा नारायणगढ-बुटवल सडकखण्ड यतिबेला निकै सहज बनेको छ। नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्रै लाग्ने गरेको छ। त्यसो त कतिपय निजी सवारी चालकहरू १ घण्टा ३० मिनेटमा यो सडक पार गरेको बताउँछन्।
गत वर्षमा दाउन्नेको सडकका कारण कतिपयले यही सडकमा रात बिताउनु परेको थियो। वर्षा र चाडपर्वको बेला पूर्व-पश्चिम यात्रा गर्नुपर्ने कतिपय पर्वमा घर जान समेत नसकेको पीडा छ।
यहाँका ग्याँस उद्योगी विमल कालाखेती गत साता एक घण्टा ३० मिनेटमा बुटवलबाट नारायणगढ पुगेको अनुभव सुनाउँछन्। सडक सहज र कतै अवरोध नभएको उनको भनाइ छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ का उद्योगी प्रकाश आचार्य नारायणगढबाट १ घण्टा ५० मिनेटमा घरमा नै पुगेको बताउँछन्।
‘परिवारसहित निजी सवारीमा आउँदा निकै छिटो आइयो। विगतका सबै दुःख अहिले सडकले बिर्साएको छ,’ विगतमा यात्रा गर्दा दाउन्नेमा लामो जाममा पर्ने गरेको स्मरण गर्दै आचार्यले भने, ‘नारायणगढबाट साँझ ६ बजे हिँडेर भोलि पल्ट बिहान १० बजे घर पुगेको थिएँ।’
यसरी धेरै पटक दुःख पाएको उनले बताए। अहिले सडक फराकिलो र निकै गुणस्तरीय भएको उनको भनाइ छ।
बुधबार बुटवलबाट २ घण्टामा नारायणगढ आइपुगेका सञ्चारकर्मी प्रकाश ज्ञवालीले विगतमा यही सडक १२ घण्टाभन्दा बढी समय लगाएर पार गरेको बताए। रुपन्देहीको सैनामैनामा बुबा आमासँग दसैं मान्न परिवार सहित भरतपुरबाट जाँदा १२ घण्टा सडकमै बिताएको उनले स्मरण गरे।
उनले भने, ‘झण्डै ७ वर्ष हामीले पीडादायी यात्रा सडकमा भोग्यौँ, हिजो म दुई घण्टामा बुटवलबाट नारायणगढ आइपुगेँ।’
भरतपुरका एक कर्मचारी आफ्नो निजी गाडीमा नारायणगढबाट १ घण्टा ४४ मिनेटमा बुटवलको चौराहा चोक पुगेको बताउँछन्।
यो सडकमा समस्या आएर बुटवल-पाल्पा लगायतबाट आउने यात्रु पोखरा हुँदै आउनुपर्ने बाध्यता थियो। कतिपयले कालीगण्डकी करिडोरको बाटो समेत प्रयोग गर्ने गरेका थिए।
चितवन आउँदा भैरहवाबाट विमानमार्फत काठमाडौं हुँदै पुनः चितवनमा आउनेहरू पनि प्रशस्त थिए। कतिपयले भैरहवाबाट पोखरा गएर चितवन आउने गरेका थिए।
चौतारी यातायात सेवा प्रालिका अध्यक्ष भुवन बराल पहिले-पहिले रातभरी पनि जाममा बस्नुपर्ने सडक अहिले यात्रु झार्दै र चढाउँदै जाँदा पनि ३ घण्टामा पुगिने गरेको बताउँछन्।
उनले भने, ‘विगतमा यो सडक खण्डमा सवारी संचालन गर्दा दैनिक टुटफुट र मर्मत गर्नुपर्ने बाध्यता थियो, अहिले समस्या छैन।’
बर्सातको समयमा धेरैले निकै दुःख पाएको यो सडकमा अहिले सरर आवतजावत गर्न सकिन्छ। नारायणगढ-बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालका अनुसार यो सडकको निर्माण २ खण्डको ९२ प्रतिशत हाराहारी सकिएको छ। सडक सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्रै बाँकी रहेको उनले जानकारी दिए।
नारायणगढबाट ११३.३५ किमी बुटवलको दूरी छ। यो सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो। दुवै ठेक्का एउटै चिनियाँ ठेकेदार कम्पनीले पाएको छ।
करिब १६.९९ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको यस आयोजनामा एसियाली विकास बैंक (एडीबी)को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी छ।
चिनियाँ सरकारी कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले निर्माणको जिम्मा पाएको यस आयोजनाको काम विसं २०७५ चैत ८ गतेदेखि सुरु भएको थियो। सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि पटक-पटक मिति थप गर्दै आएको छ।
६५ किलोमिटर लम्बाइको नारायणगढ-दाउन्ने खण्डलाई ‘पूर्वी खण्ड’ र ४९ किलोमिटर लम्बाइको दाउन्ने-बुटवल खण्डलाई ‘पश्चिमी खण्ड’ भनिएको छ।
नारायणगढ-बुटवल सडक दुई लेनबाट चार लेनमा विस्तार गरिएको हो। बस्ती भएका ठाउँमा ६ लेन बनाइएको छ।
यस विस्तारअन्तर्गत बजार क्षेत्रको २८ किलोमिटर खण्डलाई ६ लेन र अन्य क्षेत्रलाई ४ लेनमा स्तरोन्नति गरिएको हो। रासस