BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच छलफलः वित्तीय संकट झेलिरहेका उद्योगीलाई सहजीकरण गर्न सुझाव

२०८३ साउन २०

अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच छलफलः वित्तीय संकट झेलिरहेका उद्योगीलाई सहजीकरण गर्न सुझाव
अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच छलफलः वित्तीय संकट झेलिरहेका उद्योगीलाई सहजीकरण गर्न सुझाव


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक र निजी क्षेत्रका उद्योगी व्यवसायीहरूलाई गर्न सकिने सहजीकरणबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग छलफल गरेका छन्।

Tata
GBIME

अर्थ मन्त्रालयको आयोजनामा बुधबार भएको छलफलमा बैंकका १८ जना कार्यकारी निर्देशक सहभागी थिए।

छलफलको सुरुवात गर्दै मन्त्री वाग्लेले वित्तीय संकट झेलिरहेका उद्योगी व्यवसायीलाई गर्न सकिने सहजीकरणका लागि सुझाव माग गरेका थिए।

छलफलको सुरुवात गर्दै उनले भने, “तपाईंहरू राष्ट्र बैंकको महत्त्वपूर्ण विभागमा बसेर काम गर्नुभएको काबिल अर्थशास्त्री हुनुहुन्छ। समग्र मुलुकको आर्थिक र वित्तीय अवस्थाबारे तपाईंहरूको ज्ञान मुलुक निर्माणको यो महत्त्वपूर्ण समयमा लगाउनुपर्नेछ,” मन्त्री वाग्लेले भने, “अब मलाई सुझाउनुहोस्, वित्तीय संकट व्यहोरिरहेका नागरिक र निजी क्षेत्रका उद्योगी व्यवसायीलाई कसरी हामीले सहयोग गर्न सक्छौं।”

नयाँ बजेट कार्यान्वयनमा आएको र बजेटकै जगमा टेकेर आर्थिक रूपान्तरणको जग बसाउनुपर्ने उनले बताए। अर्थतन्त्र चलायमान गराउन र विगतका नीतिका कारण वित्तीय संकट झेलिरहेका नागरिक र निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको मन्त्री वाग्लेले बताए।

कालोसूचीमा परेका नागरिकलाई कसरी अर्को मौका दिन सकिन्छ भन्ने उपाय पनि सुझाउन वाग्लेले कार्यकारी निर्देशकहरूलाई आग्रह गरे।

मौद्रिक उपकरण लागू गर्ने राष्ट्र बैंकबाट स्वच्छ नियमन र लगानीमैत्री सहजीकरणबाट नै आर्थिक समृद्धिको बाटो समाउन सकिने विश्वास पनि उनले व्यक्त गरे।

मन्त्रीसँगको छलफलमा खुलेर प्रस्तुत भएका कार्यकारी निर्देशकहरूले नयाँ सरकार गठन भएपछि बिस्तारै बजारमा आत्मविश्वास बढ्दै गएको र अर्थतन्त्रले लय समाउने संकेत देखिएको बताएका थिए।

कोभिड महामारीले पिल्सिएको अर्थतन्त्रले अझै लय समाउन नसकेको र त्यसैको मारमा परेका नागरिक र निजी क्षेत्रका उद्योगी व्यवसायीहरूलाई माथि उठाउनु चुनौतीपूर्ण रहेको उनीहरूको भनाई थियो। छोटो समयमा थपिएका कालोसूचीको संख्या र त्यसले निम्त्याएको निराशाले बजारमा प्रभाव पारेको उनीहरूले बताए।

जनताको बचत रहेका वित्तीय संस्थाहरूको लगानी सुरक्षाको सुनिश्चितता गर्दै कालोसूचीबाट नागरिक, उद्योगी र व्यवसायीलाई बाहिर निकाल्न तत्कालै केही गर्न जरुरी भएको उनीहरूको भनाइ थियो।