BIZMANDU
www.bizmandu.com

बालेनले ब्राण्डिङ गरिदिएपछि डीडीसी धमाधम सञ्जाल बढाउँदै, उपत्यकामा ३० वटा नयाँ आउटलेट

२०८३ साउन २०

बालेनले ब्राण्डिङ गरिदिएपछि डीडीसी धमाधम सञ्जाल बढाउँदै, उपत्यकामा ३० वटा नयाँ आउटलेट
बालेनले ब्राण्डिङ गरिदिएपछि डीडीसी धमाधम सञ्जाल बढाउँदै, उपत्यकामा ३० वटा नयाँ आउटलेट


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले गरेको ब्राण्डिङपछि बजारमा माग बढेका कारण दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्नो सञ्जाल बढाउन लागेको छ।

Tata
GBIME

डीडीसीले काठमाडौं उपत्यकामा ३० वटा आउलेट थप्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेनले याक चिज र मन्त्रिपरिषद्ले चिजका साथै आफ्ना अन्य उत्पादनको प्रचार गरेपछि उपत्यकामा आउटलेट थप्न लागेको डीडीसीले जनाएको छ।

डीडीसीका सूचना अधिकारी निलकण्ठ गौतमले उपत्यकाभित्र माग बढेका कारण दसैंअघिसम्म विभिन्न ठाउँमा ३० वटा आउटलेट खोल्ने लक्ष्य रहेको बताए।

उनका अनुसार बनस्थली, कलंकी, एकान्तकुना, कोटेश्वर, बानेश्वर, न्युरोड, चाबहिल र महाराजगंजमा आउटलेट खुलिसकेको छ। ‘नयाँ आउटलेट थपिने क्रममा छ,’ गौतमले भने।

डीडीसीले नयाँ आउटलेटमा आफैं लगानी गरेको भने होइन। ‘हामीले आफैं आउटलेट खोलेर कर्मचारी खटाउन सक्ने अवस्था छैन। आउटलेटमा लगानी अरुकै हो। हामीले त डीडीसीका उत्पादन उपलब्ध गराइदिने हो,’ गौतमले भने, ‘तर, ती आउटलेटमा अरु डेरीमा उत्पादन राख्न पाइँदैन।’

बजारमा माग बढ्न थालेपछि डीडीसीमा धुलो दूध र बटरको स्टक घट्दै गएको छ। स्टक घट्दै गएकाले कम्पनीले किसानको बक्यौता रकम पनि घटाएको छ। गौतमका अनुसार कम्पनीले किसानलाई ४० करोड रुपैयाँ हाराहारी बक्यौता भुक्तानी गर्न बाँकी छ।

डीडीसीले गत आर्थिक वर्षमा ४ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ। देशभर दैनिक ९० हजारदेखि १ लाख लिटर दूध बेच्ने डीडीसीले उपत्यकामा हाल ७० हजार लिटर बिक्री गरिरहेको छ।