BIZMANDU
www.bizmandu.com

रियल इस्टेट लगायत क्षेत्रमा आउन थाल्यो कर्जाको नयाँ प्रस्ताव, बैंकर भन्छन्- सकारात्मक संकेत

२०८३ साउन २०

रियल इस्टेट लगायत क्षेत्रमा आउन थाल्यो कर्जाको नयाँ प्रस्ताव, बैंकर भन्छन्- सकारात्मक संकेत
रियल इस्टेट लगायत क्षेत्रमा आउन थाल्यो कर्जाको नयाँ प्रस्ताव, बैंकर भन्छन्- सकारात्मक संकेत


काठमाडौं। बैंक तथा वित्तीय संस्थामा कर्जाको नयाँ प्रस्ताव आउन थालेको छ। बैंकमा पैसा थुपारेर बसेका बैंकरहरु नियमितबाहेकका प्रस्ताव आउन थालेपछि उत्साहित देखिएका छन्।

Tata
GBIME

लामो समयदेखि कर्जाको माग अपेक्षित रुपमा नबढेर बैंकमा तरलता थुप्रिएका बेला चालु आर्थिक वर्षको सुरुमै कर्जाका लागि नयाँ-नयाँ प्रस्ताव आएपछि बैंकरहरु उत्साहित देखिन थालेका हुन्।

राष्ट्रिय वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले जलविद्युत बाहेकका क्षेत्रमा कर्जाका प्रस्ताव आउनुलाई सकारात्मक संकेतका रुपमा लिएका छन्।

‘साउन नयाँ कर्जा जाने समय होयन। तर अहिले रेगुलर बाहेकका प्रस्ताव आइरहेका छन्। हाइड्रोपावरका अलावा यसपालि उत्पादनमूलक क्षेत्रबाट पनि कर्जाका लागि धमाधम प्रस्ताव आइरहेका छन्,’ सीइओ खनालले भने, ‘उद्योग, पूर्वाधार र प्रविधिको क्षेत्रबाट प्रस्ताव आउनुलाई हामीले सकारात्मक संकेतका रुपमा लिएका छौं।’

खनालका अनुसार ब्याजदर न्यून विन्दुमा आएका कारण घर र सेयर कर्जाका लागि समेत सोधपुछ बढेको छ।

आर्थिक वर्ष २०८१/८२ मा कर्जा प्रवाह ८.२ प्रतिशत अर्थात ४ खर्ब २४ अर्ब र आर्थिक वर्ष २०८२/८३ मा ६.३३ प्रतिशत अर्थात ३ खर्ब १५ अर्ब कर्जा विस्तार भएको थियो। कर्जा लगानी सुस्त हुँदा त्यसको प्रभाव आर्थिक गतिविधिमा पर्‍यो। उत्पादन र रोजगारी प्रभावित हुन पुग्यो।

सुस्त कर्जा लगानीका कारण लगानीयोग्य रकम बैंकमा नै थुप्रिंदा एकातिर सरकारको आम्दानी समेत प्रभावित भयो भने अर्कातिर तरलता व्यवस्थानका लागि राष्ट्र बैंकले निरन्तर पैसा खिच्नु परिरहेको छ।

नेपाल बैंकका सीइओ तिलकराज पाण्डेयले पनि नयाँ आर्थिक वर्ष सुरु भएसँगै कर्जाको सोधपुछ बढ्न थालेको बताए। उनका अनुसार पछिल्लो वर्षमा ठप्प जस्तै देखिएको रियल इस्टेट क्षेत्रमा समेत कर्जाका लागि प्रस्ताव आउन थालेको छ।

‘अघिल्ला वर्षको तुलनामा अहिले कर्जाका लागि सोधपुछका साथै प्रस्ताव आउने क्रम बढेको छ,’ उनले भने, ‘हाम्रो बैंकको कुरा गर्दा अहिले रियल स्टेट क्षेत्रमा कर्जाको प्रस्ताव धेरै आइरहेको छ।’

उनका अनुसार दीर्घकालीन लगानी गर्न चाहनेहरुले ब्याजदर तल झरेको अवस्थामा कर्जा लगानी गर्न चाहेका छन्।

अहिले कर्जाको औसत ब्याजदर साढे ६ प्रतिशत छ। केही बैंकले ६ प्रतिशत भन्दा कम स्थिर ब्याजदरमा समेत कर्जा दिइरहेका छन्। बैंकहरुको औसत बेसरेट नै ४.९० प्रतिशत आएको छ।

बेसरेट नै ५ प्रतिशतभन्दा तल झरेपछि बैंकहरुले ०.२५ प्रतिशत प्रिमियम जोडेर कर्जा दिन थालेका छन्। स्टान्डर्ड चार्टर्ड बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिइरहेको छ।

राष्ट्रिय वाणिज्य बैंकले ४.४२ प्रतिशत ब्याजदरमा कर्जा दिइरहेको छ। बैंकले भूकम्प पीडित घर कर्जा बेसरेटमा ०.२५ प्रतिशत प्रिमियम जोडेर दिइरहेको हो। त्यसैगरी, बैंकले बेसरेटमा ०.३२ प्रतिशत प्रिमियम थपेर नेपाली सेवा आवास कर्जा र ०.५० प्रतिशत प्रिमियम जोडेर वैदेशिक रोजगार कर्जा दिइरहेको छ।

कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नबिल बैंकले पनि ५ प्रतिशत हाराहारीमै कर्जा दिइरहेका छन्।

सस्तो ब्याजदरका स्किम र अधिक तरलताका कारण ऋण तत्काल महँगिने अवस्था नरहेकाले कर्जा बढ्ने बैंकहरुको विश्वास छ।