काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पूर्वसचिव महेश्वर न्यौपाने धरौटीमा रिहा भएका छन्।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरु उमेश कोइला र विदुर कोइरालाको इजलासले पूर्वसचिव न्यौपानेलाई ४ लाख ५० रुपैयाँ धरौटीमा रिहा गर्न बुधबार आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्ब ६२ करोड रुपैयाँ कर छुट दिएर राज्यलाई नोक्सानी पुर्याएको भन्दै गत वैशाख २४ गते न्यौपानेका साथै पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायत १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
त्यो मुद्दामा न्यौपाने बुधबार अदालतमा हाजिर भएका थिए। न्यौपानेको बयानपछि अदालतमा थुनछेक बहस भएको थियो।
सोही मुद्दामा अदालतले यसअघि पूर्वसचिव शंकरप्रसाद अधिकारी र केवलप्रसाद भण्डारी तथा सचिव डुण्डुराज घिमिरेलाई पनि धरौटीमा रिहा गरेको थियो।