काठमाडौं। दक्षिण कोरियाका राजदूत पार्क तइयोङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटवार्तामा मन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्ने बताएका छन्। उनले दुई मुलुकबीचको सम्बन्धका प्राथमिकतामा व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रलाई राख्नुपर्ने उल्लेख गरे।
उनले भने, ‘लगानीका लागि हामीले विभिन्न क्षेत्रको पहिचान गर्नुपर्छ। अहिले हामी ऊर्जा र उत्पादनको क्षेत्रमा छौँ। अब हामीले अन्य क्षेत्रमा पनि जोड दिनुपर्छ।’
शिक्षा क्षेत्रमा अनुसन्धान संस्थाहरूबीच सहकार्य गर्नुपर्नेमा पनि उनले जोड दिए।
साथै, परराष्ट्रमन्त्री खनालले दक्षिण कोरियाले संचालन गर्दै आएको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यक्रम दुई मुलुकबीचको सम्बन्धको नमुना रहेको बताए। उनले ईपीएसले नेपाल र दक्षिण कोरियाबीच जनस्तरको सम्बन्धमा समेत सकारात्मक प्रभाव पारेको उल्लेख गरे।
आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत पार्कले नेपालमा रहेर गरेको सेवाप्रति परराष्ट्रमन्त्री खनालले प्रशंसा गरे।
राजदूत पार्कले आफू जहाँ गए पनि नेपाललाई कहिल्यै नबिर्सने बताए। उनले नेपालको साँस्कृतिक विविधताको समेत प्रशंसा गरे।