काठमाडौं। विराटनगरको व्यापारिक घराना देवेनारा समूहका सञ्चालकको मुन्दडा निवासमा अनावश्यक छापा मारेर आलोचित भएपछि प्रहरीले व्यापारीहरुसँग छलफल थालेको छ। गृह प्रशासनको नियत निजी क्षेत्रलाई तर्साउने नरहेको भन्दै प्रहरीले उद्योगी व्यवसायीलाई सम्झाउने प्रयास गरेको छ।
छापा मारेको घटनाबाट मोरङका उद्योगी व्यवसायी सरकारसँग असन्तुष्ट छन्। प्रहरी-प्रशासनको खुलेर विरोध नगरे पनि अनावश्यक खानतलासीले लगानीको वातावरण बिगारेको चर्चा भइरहेको छ। यस्तो बेला कोशी प्रहरी प्रदेश कार्यालयका प्रमुख शेखर खनालले व्यापारीहरुसँग छलफल गरेका छन्।
कोशी प्रदेश उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग भेटेर निर्वाधरुपमा व्यापार व्यवसाय गर्न कुनै त्रास नहुने भन्दै उनले आश्वस्त पार्न खोजेका हुन्। छलफलमा नेपाल उद्योग परिसंघ कोशी, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र उद्योग वाणिज्य संघ कोशी प्रदेश समितिका पदाधिकारीको सहभागिता थियो।
डीआइजी खनालसँगको संवादमा राजेन्द्र राउत, पवनकुमार शारडा, नन्दु राठी, भीम घिमिरे, प्रकाश मुन्दडा, राजन श्रेष्ठ लगायतको उपस्थिति थियो।
गत सोमबारको घटनालाई नै लिएर त्रसित हुनुपर्ने अवस्था नभएको भन्दै डीआइजी खनालले व्यापारीहरुलाई सान्त्वना दिएका छन्। छलफलमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवाल पनि सहभागी भएका थिए।
एसपी कटवालकै नेतृत्वमा पाँच घण्टासम्म प्रहरीले ठूलो संख्या तैनाथीसँगै मुन्दडाको घरमा छापा मारेको थियो। तर केही नभेटिएको भन्दै प्रहरी फिर्ता भयो। त्यसपछि प्रहरीको छापा र नेतृत्वप्रति प्रश्न उठेको छ।
मुन्दडा समूह जेजे ज्वेलर्स नामक चाँदीका गहना उद्योग, बाबा आयल रिफाइनरी र हाइलाइफ चप्पल उद्योग सञ्चालन गर्दै आएको औद्योगिक समूह हो। जेजे ज्वेलर्स नेपालको सबैभन्दा ठूलो चाँदी उद्योग हो।
व्यापारीहरुको चर्को असन्तुष्टिपछि प्रहरीले मोरङ जिल्लाका एसपी कटुवाललाई स्पष्टीकरण पनि सोधेको छ। जिप्रका मोरङले सूचनाको विश्वसनीयताको आधार केलाउन नसकेको र ठूलो संख्यामा प्रहरी परिचालन गरेर छापा मार्नु कमजोरी भएको देखिएको छ।