BIZMANDU
www.bizmandu.com

विश्व बैंकले देखायो एआईको सम्भावना, रोजगारी जोखिममा तर उत्पादकत्व १६ प्रतिशतले बढ्ने

२०८३ साउन २०

विश्व बैंकले देखायो एआईको सम्भावना, रोजगारी जोखिममा तर उत्पादकत्व १६ प्रतिशतले बढ्ने
विश्व बैंकले देखायो एआईको सम्भावना, रोजगारी जोखिममा तर उत्पादकत्व १६ प्रतिशतले बढ्ने


काठमाडौं। विश्व बैंकको अध्ययनले विश्वभर आर्टिफिसियल इन्टिलिजेन्स (एआई)ले रोजगारी जोखिममा पारे पनि उत्पादकत्व भने निरन्तर बढाइरहेको देखाएको छ।

Tata
GBIME

वर्ल्ड डेभलपमेन्ट रिपोर्ट, २०२६ अनुसार न्यून तथा मध्यम आय भएका देशको तुलनामा उच्च आय भएका देशमा रोजगारी जोखिममा पर्ने सम्भावना तीन गुणाभन्दा बढी छ।

न्यून तथा मध्यम आय भएका देशमा एआईका कारण विद्यमान रोजगारीमध्ये ४.५ प्रतिशत जोखिममा छ भने उच्च आय भएका देशमा १४.२ प्रतिशत रहेको विश्व बैंकले जनाएको छ।

यसै समयमा नेपालजस्ता विकासोन्मुख अर्थतन्त्रमा रोजगारीको उत्पादकत्वमा एआईले १६.२ प्रतिशतले वृद्धि गराउने सम्भावना रहेको विश्व बैंकले जनाएको छ। जबकि उच्च आय भएका देशमा यो १८.७ प्रतिशत छ।

त्यसैलै एआईबाट रोजगारी प्रतिस्थापन नभएर काम गर्ने क्षमता बढाउनु रहेको प्रतिवेदनको निचोड छ।

विद्युत्, इन्टरनेट, सीप र संस्थागत क्षमतामा लगानी गर्न सके कमजोर देशहरूले समेत एआईको प्रयोगबाट उच्च आर्थिक वृद्धि हासिल गर्न सक्ने उल्लेख गरिएको छ।

दक्ष जनशक्ति, भरपर्दो अभिलेख र सरकारी क्षमता सीमित भएका देशमा एआई अझ उपयोगी हुने प्रतिवेदनमा उल्लेख छ।

विश्व बैंकले नेपालका साथै भुटान, कम्बोडिया, इजिप्ट, केन्या, म्यान्मार, नाइजेरिया, ताजिकिस्तानलगायत देशलाई निम्न मध्यम आय भएका अर्थतन्त्रका रुपमा व्याख्या गरेको छ।

यी देशले एआईको प्रभावकारी प्रयोग गर्न सके यो दशकको अन्त्यसम्म आर्थिक वृद्धिमा उल्लेखनीय सुधार ल्याउन र नागरिकले पाउने प्रत्यक्ष लाभको सम्भावना बढाउने प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी अष्ट्रेलिया, बेल्जियम, क्यानडा, न्यूजील्याण्ड, साउदी अरेबिया, सिंगापुर, संयुक्त अरब इमिरेट्सलगायत देशलाई उच्च आय भएका अर्थतन्त्रमा राखिएको छ। न्यून र मध्यम आयको तुलनामा उच्च आय भएका मुलुकमा एआईको प्रयोग र विश्वास दुवै बढी रहेको प्रतिवेदनमा उल्लेख छ। ‘यसले उनीहरूको संस्थागत क्षमता र उत्पादकत्व पनि उच्च छ,’ विश्व बैंकले भनेको छ।

एआईले कामदारको काम र क्षमतालाई अझ सशक्त एवं व्यापक बनाउने विश्व बैंकले जनाएको छ। स्थानीय भाषाको समेत प्रयोग गर्न सकिने भएकाले एआईको काम कमजोर शिक्षा प्रणाली र भाषागत समस्या भएका मुलुकका लागि झन् उपयोगी हुने उल्लेख छ।

एआई उपकरणले डाक्टरलाई बिरामीको रोग पहिचान गर्न, कृषकलाई बालीनाली सम्बन्धी उपयोगी निर्णय लिन र व्यवसायलाई थप वृद्धि गर्न सहज बनाउन सक्ने प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी सरकारले पनि कर सङ्कलन, सामाजिक कार्यक्रम, विपद् व्यवस्थापन, स्वास्थ्य सेवा र शिक्षामा सुधार ल्याउन एआईको प्रयोग गर्न सक्ने देखिएको छ।

विश्व बैंकले यसलाई एआईको प्रभावबारे आफ्नो पहिलो विस्तृत अध्ययन भनेको छ। प्रतिवेदनले आधारभूत पूर्वाधारलाई पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ।

आवश्यक तयारीविनाको प्रयोगले देशहरुबीच अन्तर बढाउने, असमानता बढाउने, बजार शक्ति सीमित कम्पनीमा केन्द्रित गर्ने, सार्वजनिक संस्थाहरूको विश्वास कमजोर बनाउने तथा सामाजिक सद्भावमा जोखिम सिर्जना गर्न सक्ने चेतावनी पनि प्रतिवेदनले दिएको छ।

विश्व बैंकले यसलाई एआईको प्रभावबारे आफ्नो पहिलो विस्तृत अध्ययन भनेको छ।