BIZMANDU
www.bizmandu.com

नेपालपछि युरोपको फ्रेन्चाइजमा अख्तर, इटलीमा लिए क्रिकेट लिग, कसरी पाए स्वामित्व?

२०८३ साउन १९

नेपालपछि युरोपको फ्रेन्चाइजमा अख्तर, इटलीमा लिए क्रिकेट लिग, कसरी पाए स्वामित्व?
नेपालपछि युरोपको फ्रेन्चाइजमा अख्तर, इटलीमा लिए क्रिकेट लिग, कसरी पाए स्वामित्व?


काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली र फ्रेन्चाइज टिमबाट खेलेर हाल व्यवसायमा संलग्न आमिर अख्तरले इटली क्रिकेटको फ्रेन्चाइज लिगको स्वामित्व लिएका छन्। अख्तरले टी-१० र टी-२० संरचनाका लागि ‘बिड’मार्फत लिग सञ्चालनको अधिकार पाएका हुन्।

Tata
GBIME

अख्तरले ‘बिड’मा विभिन्न देशका आवेदकलाई पछि पार्दै आफूले लिग सञ्चालनको अधिकार पाएको बताएका छन्। उनी इटलीबाट केही दिनअघि फर्किएका छन्।

कसरी पुगे इटली?

अमिरको इटलीसँगको साइनो गएको टी-२० विश्वकपबाट जोडिन्छ। भारतको मुम्बईमा इटलीले नेपाललाई हराउनुका साथै इङ्ल्याण्डलाई पनि कडा टक्कर दिएको थियो। 

‘जब म नेपाल र इटलीको म्याच हेर्दै थिएँ, इटलीले नेपाललाई सजिलै हरायो। एकतर्फी नै भन्नुपर्ने खेल थियो,’ अख्तरले भने, ‘दोस्रो म्याचमा इटलीले इङ्ल्याण्डलाई निकै गाह्रो पार्‍यो। त्यहीँबाट मैले देखें- इटलीमा क्रिकेटको स्कोप छ।’

अमिरले त्यसपछि इटलीका खेलाडी र विज्ञहरुबारे जानकारी लिए। अधिकांश अस्ट्रेलियन, इङलिस, साउथ अफ्रिकन मूलका रहेको पाए। युरोपकै एउटा प्रमुख देश भएकाले इटलीमा यस्ता एक्सप्याक्ट मुभमेन्ट निकै राम्रो खालको छ। इङ्ल्याण्डमा अहिले जोफ्रा आर्चर, आदिल रशिद, मोइन अली, बेन स्टोक्स (जो न्युजिल्याण्ड बर्न हुन्) जस्ता खेलाडी आउनुको कारण त्यही एक्सप्याक्ट कम्युनिटी भएकोले इटलीमा अमिरले त्यही सम्भावना देखे।

‘युकेमा रहेको आफ्नो सम्पर्कमार्फत इटलीको क्रिकेट संघसँग सम्पर्क गरें,’ उनले भने। उनले इटलीले पनि फ्रेन्चाइज क्रिकेटमा काम गर्न खोजिरहेको पाए। उनी आफैंमा फ्रेन्चाइज पृष्ठभूमिको मान्छे। कुनैबेला राष्ट्रिय खेलाडीदेखि नेपाल क्रिकेट संघ (क्यान)को सल्लाहकार हुँदै एनपीएल, ईपीएल, ईडब्लूभीलजस्ता लिग सञ्चालन गरिसकेको अनुभव।

पछिल्ला दशकमा भने क्यानसँगको टसलमा एभरेस्ट प्रिमियर लिग रोकियो। क्यानले आफैं नेपाल टी-२० लिग र त्यसपछि नेपाल प्रिमियर लिग ल्यायो। अख्तरको ईपीएल रोकियो। एभरेस्ट भलिबल लिग भने उनले सञ्चालन गरिरहेका छन्।

‘लिग सञ्चालनमा मेरो ट्र्याक रेकर्ड नै छ। दशकअघि एनपीएलको पहिलो संस्करण मैले नै फाउन्डरको रूपमा गरेको हो, ईपीएल चार वर्ष फाउन्डरकै रूपमा चलाएँ, एभरेस्ट भलिबल अहिले पनि गर्दैछु। दुई संस्करण सकिसकेको छ। नेपाल स्पोर्ट्स समिट पनि पहिलोपटक मैले नै फाउन्डरको रूपमा गरेको हो,’ उनले भने।

ग्रासरुटबाट काम गरेको आफ्नो अनुभवले इटली क्रिकेट संघका पदाधिकारी प्रभावित भएको अख्तरको बुझाइ छ।

‘इटालियन क्रिकेटले कुनै हाइफाई वा ठूलो कर्पोरेट हाउस नभई तल्लो तहबाट जग बसालेर माथि लैजान सक्ने अपरेटर खोजिरहेको थियो। म यसका लागि निकै थ्यांकफुल र भाग्यमानी छु- मेरो कम्पनीले टेन्डर पायो। यो वर्षदेखि प्रतियोगिता सुरु गर्दैछौं,’ उनले भने।

उनले लिग सञ्चालनका लागि फ्रेन्चाइज युरोपबाटै खोज्नेछन्। त्यसका लागि उनले सम्पर्क बढाइसकेका छन्।

नेपालमा खेलाडीको करियर सुरु गरेर विश्वको टप टेन जीडीपीभित्रको देशमा लिगको स्वामित्व पाउँदा कस्तो लागिरहेको छ? भन्ने प्रश्नमा उनी अली भावुक भए।

‘त्यहाँ फाउण्डरको हैसियतमा लिग लिनु मेरा लागि गर्वको कुरा हो। मैले जिन्दगीभर स्पोर्ट्स नै बुझेको छु, स्पोर्ट्स इन्डस्ट्रीमै काम गरेको छु। र, आज नेपाल बाहिर पनि मेरो प्रयासले नतिजा देखाएकोमा म गौरवान्वित छु,’ उनले भने।

कस्तो थियो बिडिङ?

अख्तरलाई इटली क्रिकेटसम्म पुग्न नेटवर्किङले काम गर्‍यो। ‘लन्डनमा पढ्दा त्यहाँका धेरै मानिससँग चिनजान थियो। उनीहरू इटली क्रिकेटसँग जोडिएका थिए। मैले रुचि देखाएँ। बिडमा आउन चाहन्छु भनेर,’ उनले भने, ‘यसमा कुनै खुला बिडिङ थिएन, तर विभिन्न देशबाट इच्छुकहरु थिए।’

इटलीको क्रिकेट संघले लिगको स्वामित्व लिन चाहनेहरुको बारेमा लामो समय लगाएर अध्ययन गर्‍यो।

‘साँच्चै भन्दा म सबैभन्दा कम रकम बिड गर्नेमध्येको थिएँ, ठूलो बिडर थिइन। तर इटली क्रिकेटको फाउन्डेसन बनाउनेबारे मेरो आइडिया राम्रो थियो। उनीहरूले मलाई आइडिया, स्किल र पृष्ठभूमिका कारण छाने, पैसाका आधारमा मात्रै होइन,’ उनले भने।

चुनौती र अवसर

इटली अर्थतन्त्रका हिसाबले ठूलो राष्ट्र भए पनि क्रिकेटिङ कल्चरका हिसाबले धेरै पछाडि रहेको राष्ट्र हो। ‘इटलीमा क्रिकेटको वातावरण र पूर्वाधार दुवै सीमित छ। जहाँ चुनौती हुन्छ, त्यहीँ अवसर पनि हुन्छ भन्ने मलाई लाग्छ,’ अख्तरले भने, ‘त्यो देशमा ठूलो क्रिकेट बजार भएको भए हामीले पाउने पनि थिएनौं।’

तर, विश्वकप खेलिसकेको देशमा सम्भावना भने प्रशस्त रहेको उनको बुझाइ छ।

‘पूरै इटलीमा क्रिकेट मैदान दुई-तीनवटा मात्र छन्। ती पनि आर्टिफिसियल टर्फ भएका छन्, प्राकृतिक पिच होइन। यसैले पूर्वाधारमै लगानी गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘स्कुल, कलेज र नर्सरी तहमै क्रिकेट लैजानुपर्छ, मैदानलाई आधारभूत स्तरमा ल्याउनुपर्छ। अबको तीन-चार महिना हाम्रो मुख्य काम यही हो।’

लगानी र मोडेल

पूर्वाधारदेखि काम गर्नुपर्ने स्थितिमा संघले कति गर्ने र लिग आयोजकले कति गर्ने भन्ने ग्रेलाइन ठूलो हुन सक्छ।

इटली क्रिकेट लिगको स्टेक लिने कम्पनीमा उनी सबैभन्दा ठूलो साझेदार हुन्। उनले कति रकम लगानी गर्न लागेका हुन् भन्ने चाहीँ खुलाउन चाहेनन्।

‘मेरा युकेबेस्ड स्थानीय साझेदारहरू छन्, उनीहरुले लगानी गर्छन्। मेरो अनुभव र प्रोफाइलका कारण उनीहरूले मलाई फाउन्डर तथा चेयरपर्सन बनाएका हुन्। म सबैभन्दा ठूलो सेयर होल्डर हुँ। इटली क्रिकेटले हामीलाई पेट्रोनेज (स्याङ्सनिङ) दिएको छ,’ उनले भने, ‘त्यहाँको मैदान प्राइभेट स्वामित्वमा छ, इटली क्रिकेट संघको होइन। हामी त्यसका मालिकसँग सम्पर्कमा छौं र पिचमा लगानी गर्दैछौं।’

अख्तरका अनुसार इटलीमा पहिलो चुनौती पिच सुधार्नु हो। उनले सम्झौता हुनासाथ काम सुरु गर्ने बताए। लगानीसँग सिधा जोडिएर आउँछ नाफा। त्यसो भए कति वर्षमा नाफा हुने अनुमान छ? उनीसँग यसको जवाफ मुखैमा छ।

‘स्पोर्ट्समा प्रतिफल पहिलो वर्षमै आउन पनि सक्छ, दस वर्षसम्म नआउन पनि सक्छ। लिगलाई दिगो (सस्टेनेबल) कसरी बनाउने भन्ने ज्ञान हामीसँग छ,’ उनले भने, ‘नाफा भनेको लिगको मात्र होइन, टिम मालिकको नाफा पनि उत्तिकै महत्त्वपूर्ण हो। इटली क्रिकेटले पनि रोयल्टीबाट कमाउनुपर्छ भन्ने हाम्रो सोच हो। लिगमा लगानी गर्ने टिमले पनि नाफा उठाउनुपर्छ।’

उनी सबै पक्षलाई नाफा ग्यारेन्टी गर्दै लैजाने बताउँछन्।

‘लिग आफैं दिगो बन्नुपर्छ, बोर्डले रोयल्टी पाउनुपर्छ, टिम मालिकले पैसा कमाउनुपर्छ र खेलाडीको तलब पनि हुनुपर्छ,’ उनले भने, ‘कुनै एउटा मात्र पक्षले कमाएर संसारको कुनै पनि लिग चल्दैन।  मैदान हेरचाह गर्नेदेखि सबैले आफ्नो हिस्सा पाउनुपर्छ।’

खेलाडीदेखि विदेशी लिगको फाउण्डरसम्म

अख्तरले बेलायतमा पढ्दा क्रिकेट खेले। सँगसँगै मार्केटिङमा विशेषज्ञता हासिल गरे।

‘स्पोर्ट्स सुरुदेखि नै मेरो जुनून हो। खेल्दै गर्दा मैले खेलाडीले पैसा नपाएको अवस्था देखेको छु। आफैं खेल्दा हामी दैनिक ५ रुपैयाँ भत्ता पाउँथ्यौं। यो पचास वर्ष होइन, जस्ट पन्ध्र-बीस वर्षअघिको कुरा हो,’ उनले भने, ‘तलब थिएन। १४ वर्षअघि क्यानमा तलब स्किम नै नभएकाले मैले मुद्दा हालेको थिएँ र जितेको पनि थिएँ। त्यही बेलादेखि तलब स्किम सुरु भयो।’

पछि क्यानले उनलाई सल्लाहकार बनायो। पछिल्ला वर्षमा क्यानसँग उनको सम्बन्ध राम्रो छैन। क्रिकेट र फ्रेन्चाइजमा उनलाई मन पराउने र नपराउने धेरै छन्। तर, उनलाई हम्मेसी इग्नोर गर्न चाहीँ सक्दैनन्। नेपाल प्रिमियर लिग (एनपीएल) क्यानले सञ्चालन गर्दा उनी ट्रेडमार्क र ब्राण्ड आफ्नो भएको दाबी गर्दै मुद्दा मामिलामा गए। पछि फिर्ता लिए।

‘फ्रेन्चाइज खेल बुझ्न व्यवसाय बुझ्नु उत्तिकै महत्त्वपूर्ण छ। एकतर्फी ज्ञानले काम गर्दैन। म क्रिकेट खेलाडी भएँ भन्दैमा क्रिकेट मात्र बुझेर फ्रेन्चाइज क्रिकेट चलाउन सकिंदैन। फ्रेन्चाइज क्रिकेट बुझ्न क्रिकेट त बुझ्नुपर्छ नै, त्यसमाथि व्यवसाय, अर्थतन्त्र र विज्ञापनको बुझाइ पनि उत्तिकै जरुरी छ,’ उनले भने।