BIZMANDU
www.bizmandu.com

राजस्व छुट दिँदै भ्रष्टाचार गरेको आरोपमा दाङको गढवाका पूर्वअध्यक्षसहित पाँचविरुद्ध मुद्दा

२०८३ साउन १९

राजस्व छुट दिँदै भ्रष्टाचार गरेको आरोपमा दाङको गढवाका पूर्वअध्यक्षसहित पाँचविरुद्ध मुद्दा
राजस्व छुट दिँदै भ्रष्टाचार गरेको आरोपमा दाङको गढवाका पूर्वअध्यक्षसहित पाँचविरुद्ध मुद्दा


काठमाडौं। दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित पाँच जना तथा बुटवलस्थित सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिविरुद्ध एक करोड ४१ लाख ५० हजार रुपैयाँ राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

Tata
GBIME

आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा गढवा गाउँपालिकाले वडा नं. १ र २ अन्तर्गत राप्ती नदी क्षेत्रको रङसिङ–राप्ती दोभानदेखि मलमला घाटसम्मबाट नदीजन्य पदार्थ उत्खनन तथा निकासीका लागि सगुन कन्स्ट्रक्सनसँग २ करोड ८२ लाख ९७ हजार ६९२ रुपैयाँ ५० पैसाको ठेक्का सम्झौता गरेको थियो। तर, उत्खननको वास्तविक परिमाण यकिन नगरी तथा प्राविधिक प्रतिवेदनसमेत नलिई मिलेमतोमा ठेकेदारलाई दोस्रो किस्ताको बैंक जमानतबापतको १ करोड ४१ लाख ५० हजार रुपैयाँ मिनाहा गर्ने निर्णय गराइएको आयोगको आरोप छ।

मिनाहाको उक्त निर्णयबाट लुम्बिनी प्रदेश सरकार, गढवा गाउँपालिका तथा सार्वजनिक संस्थाको राजस्वमा हानि पुर्‍याई सरकारी सम्पत्तिमा नोक्सानी भएको निष्कर्ष आयोगले निकालेको छ।

मुद्दामा तत्कालीन अध्यक्ष अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्का र प्रतिनिधि विकास पुनलाई प्रतिवादी बनाइएको छ। उनीहरूमाथि १ करोड ४१ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना तथा थप सजायको मागदाबी लिइएको आयोगले जनाएको छ।