काठमाडौं। सिद्धार्थ बैंकले गत आर्थिक वर्ष ३ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.५३ प्रतिशत बढी हो।
अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
गत आर्थिक वर्ष फि तथा कमिसनसँगै ब्याज आम्दानी बढ्दा बैंकको नाफा बढेको हो। बैंकले ९ अर्ब ५१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ थियो।
यस्तै, नेट फि कमिसन १ अर्ब ५८ करोड रुपैयाँबाट बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८६ करोड रुपैयाँ छ। जसअनुसार बैंकको लाभांश क्षमता २६.१५ प्रतिशत देखिन्छ।
बैंकको निक्षेप २ खर्ब ८० अर्ब ३२ करोडबाट बढेर ३ खर्ब २७ अर्ब १ करोड रुपैयाँ तथा कर्जा २ खर्ब १४ अर्ब ४५ करोड बाट बढेर २ खर्ब ३३ करोड ८७ लाख रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा भने बढेको छ। अघिल्लो वर्ष २.६२ प्रतिशत रहेको खराब कर्जा बढेर ३.५३ प्रतिशत पुगेको छ। बैंकको पुँजीकोष अनुपात ११.७७ प्रतिशतबाट बढेर १३.१९ प्रतिशत पुगेको छ।