BIZMANDU
www.bizmandu.com

होटल तथा पर्यटन क्षेत्रमा रोजगारी चाहनेलाई ६ विषयमा तालिमको अवसर, नाथममा खुल्यो दरखास्त

२०८३ साउन १९

होटल तथा पर्यटन क्षेत्रमा रोजगारी चाहनेलाई ६ विषयमा तालिमको अवसर, नाथममा खुल्यो दरखास्त
होटल तथा पर्यटन क्षेत्रमा रोजगारी चाहनेलाई ६ विषयमा तालिमको अवसर, नाथममा खुल्यो दरखास्त


काठमाडौं। होटल तथा पर्यटन क्षेत्रका विभिन्न पेसागत विधामा तालिम लिन चाहनेका लागि काठमाडौंको रविभवनस्थित नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम)ले उल्लेख्य संख्यामा दरखास्त खुलाएको छ।

Tata
GBIME

प्रतिष्ठानले आगामी महिनादेखि ट्रेकिङ गाइड, ट्रेकिङ पोर्टर गाइड, बेसिक फूड प्रिपरेसन (कुक), बेकरी, बारिस्टा र वान इयर डिप्लोमा इन कुलिनरी आर्ट्स लगायतका तालिमहरू सञ्चालन गर्न लागेको छ।

ट्रेकिङ गाइडका लागि ५०० जनाको सिट निर्धारण गरिएको छ, जसको अवधि ५ हप्ता र शुल्क १०,००० रुपैयाँ तोकिएको छ। यो तालिमका लागि प्लस टु वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ। अथवा एसईई उत्तीर्ण गरी २ वर्ष रजिस्टर्ड ट्रेकिङ एजेन्सीमा काम गरेको अनुभव वा पोर्टर गाइड तालिम लिई लाइसेन्स प्राप्त गरेपछि ४ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ। यसका लागि साउन २९ गतेसम्म फाराम भर्न सकिनेछ।

त्यस्तै १५ दिन अवधिको ट्रेकिङ पोर्टर गाइड तालिमका लागि ११० जनाको कोटा छ। ३,५०० रुपैयाँ शुल्क रहेको यो तालिममा आवेदन दिन कुनै एक अन्तर्राष्ट्रिय भाषा बुझ्ने र सञ्चार गर्न सक्ने वा एसईईसम्म पढेको हुनुपर्छ।

कुक, बेकरी, बारिस्टा र कुलिनरी आर्ट्स तालिमका लागि न्यूनतम योग्यता एसईई वा सो सरह उत्तीर्ण हुनुपर्नेछ। तीन महिना अवधिको कुक तालिमका लागि ४० जनाको सिट र ३० हजार रुपैयाँ शुल्क तोकिएको छ। एक महिना अवधिको बेकरी तालिमका लागि ४० जना (शुल्क २५,००० रुपैयाँ) र बारिस्टा तालिमका लागि २० जना (शुल्क २५,००० रुपैयाँ) को सिट छ। यी तीनै तालिमका लागि भदौ २ गतेसम्म फाराम भर्न सकिनेछ। यी तालिमहरू असोज १ गतेदेखि सुरु हुने जनाइएको छ।

यसैगरी वान इयर डिप्लोमा इन कुलिनरी आर्ट्स तालिमका लागि ५४ जनाको सिट छ। २ लाख ५० हजार रुपैयाँ शुल्क रहेको यो तालिमका लागि भदौ १७ गतेसम्म फाराम भर्न सकिनेछ। सबै तालिमहरूको छनोट प्रक्रिया अन्तर्वार्तामार्फत हुने नाथमद्वारा मंगलबार जारी सूचनामा छ।