BIZMANDU
www.bizmandu.com

चितवनमा वर्षदिनमा १२ करोड २२ लाख ८४ हजार अनलाइन ठगी, प्रहरीमा ५२१ उजुरी

२०८३ साउन १९

चितवनमा वर्षदिनमा १२ करोड २२ लाख ८४ हजार अनलाइन ठगी, प्रहरीमा ५२१ उजुरी
चितवनमा वर्षदिनमा १२ करोड २२ लाख ८४ हजार अनलाइन ठगी, प्रहरीमा ५२१ उजुरी


चितवन। अनलाइनमार्फत हुने ठगीबाट पीडितको संख्या बढेको छ। चितवन जिल्लामा एक वर्षमा ५ सय २१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्।

Tata
GBIME

ती निवेदनअनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत १२ करोड २२ लाख ८४ हजार ३३८ रुपैयाँ ठगी भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये २ करोड २९ लाख ९८ हजार ६४३ रुपैयाँ फिर्ता समेत गरिएको छ।

पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक, सञ्जालबाट लिंक पठाएर ठगी गर्ने गरिएको घटना धेरै भएको उनले बताए। अहिले ठगीका निवेदन दैनिक आउने गरेको छ। सामान्य रुपमा २०० रुपैयाँदेखि लाखौंसम्मको ठगीको उजुरी आएको उनले जानकारी दिए।

अनलाइन ठगीका निवेदन आउने क्रम दैनिकजसो भएकाले यसबाट सजग रहन उनले आग्रह गरे। अपरिचित व्यक्तिले पठाएको रिक्वेस्ट एक्सेप्ट नगर्ने र अनावश्यक लिंक नखोल्ने गरेमा ठगीबाट जोगिन सकिन्छ।

गत आवमा साइबर क्राइमसम्बन्धी ३९० निवेदन दर्ता भएका छन्। यसमध्ये ३७५ निवेदन फर्छ्यौट भएका छन्। यहाँ परेका निवेदनलाई प्रदेश प्रहरी कार्यालयसँगको समन्वय गरेर काम गरिएको जानकारी एसपी पौडेलले दिए। उनका अनुसार अघिल्लो आव २०८१/८२ मा यो सङ्ख्या ४११ थियो। तीमध्ये ३९८ निवेदन फर्छ्यौट गरिएको छ। रासस