BIZMANDU
www.bizmandu.com

सडक सुरक्षामा कर्णाली कमजोर, एक वर्षमा भए ९५७ दुर्घटना, ३७ जनाको मृत्यु

२०८३ साउन १९

सडक सुरक्षामा कर्णाली कमजोर, एक वर्षमा भए ९५७ दुर्घटना, ३७ जनाको मृत्यु
सडक सुरक्षामा कर्णाली कमजोर, एक वर्षमा भए ९५७ दुर्घटना, ३७ जनाको मृत्यु


सुर्खेत । कर्णाली प्रदेशमा सवारी दुर्घटना न्यूनीकरण चुनौतीपूर्ण बन्दै गएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा मात्र सुर्खेत जिल्लामा ९५७ सवारी दुर्घटना हुँदा ३७ जनाले ज्यान गुमाएका छन्। एक वर्षमै झण्डै एक हजार दुर्घटना भएको तथ्यांकले प्रदेशमा सडक सुरक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

Tata
GBIME

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार दुर्घटनाको प्रमुख कारण तीव्र गति हो। यसबाहेक यान्त्रिक समस्या, पैदलयात्रीको असावधानी, सडक पूर्वाधारको अवस्था, प्रतिकूल मौसम तथा सडकमा छाडा पशुचौपायाले पनि दुर्घटना बढाएको छ।

दुर्घटना न्यूनीकरणका लागि चालकको व्यवहार सुधारसँगै सडक पूर्वाधार, सवारीको प्राविधिक अवस्था र ट्राफिक व्यवस्थापनमा पनि समान रूपमा ध्यान दिनुपर्ने उनले बताए।

ट्राफिक प्रहरीले गत वर्ष दुई लाख ३१ हजार १३७ जनालाई ट्राफिक सचेतना कार्यक्रममा सहभागी गराएको जनाएको छ। विद्यालय, सार्वजनिक स्थल तथा सवारी चालकलाई लक्षित गरी सञ्चालन गरिएका कार्यक्रमबाट सुरक्षित यात्राबारे जनचेतना फैलाउने प्रयास गरिएको कार्यालयको भनाइ छ।

दुर्घटना नियन्त्रणसँगै ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध कारबाही पनि तीव्र बनाइएको छ। मादक पदार्थ सेवन, तीव्र गति तथा अन्य ट्राफिक नियम उल्लंघनका घटनामा कारबाही गर्दा गत आर्थिक वर्ष एक करोड ३३ लाख ८१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। त्यस्तै, अनुमति बिना सवारीको स्वरूप परिवर्तन गर्ने चालकलाई कारबाही गर्दा थप ५ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ। रासस