काठमाडौं। नेपाली कांग्रेसले सांसदका स्वकीय सचिव नियुक्ति सम्बन्धमा कार्यविधि बनाएको छ।
सरकारले असार मसान्तमा सांसदहरुलाई शाखा अधिकृतसरह स्वकीय सचिवको सुविधा दिने निर्णय गरेपछि कांग्रेसको संसदीय दलले कार्यविधि बनाएको हो।
संसदीय दलको सोमबार बसेको बैठकले कार्यविधि स्वीकृत गरेको छ। सांसदहरुले आफूखुशी स्वकीय सचिव नियुक्त गर्न नपाउने व्यवस्था कार्यविधिमा रहेको एक नेताले जानकारी दिए।
बैठकले नागरिक, सांसद र संसद्बीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘नेपाली कांग्रेस संसदीय दल सांसद समन्वय सम्बन्धी कार्यादेश’ पनि पारित गरेको छ।
सरकारले गरेका कतिपय निर्णय संविधानको मर्मविपरीत भएको उल्लेख गर्दै संसदीय दलले सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा सिफारिसलगायत निर्णय कानुन र स्थापित विधिअनुसार गर्न सचेत गराउने निर्णय गरेको छ।