BIZMANDU
www.bizmandu.com

व्यापारिक घराना मुन्दडा समूहमाथि राज्यको श्वेत आतंक, ‘यो देश हाम्रो पनि होइन र?’

२०८३ साउन १८

व्यापारिक घराना मुन्दडा समूहमाथि राज्यको श्वेत आतंक, ‘यो देश हाम्रो पनि होइन र?’
व्यापारिक घराना मुन्दडा समूहमाथि राज्यको श्वेत आतंक, ‘यो देश हाम्रो पनि होइन र?’


काठमाडौं। औद्योगिक घराना देवेनरा समूहका मुन्दडा परिवारको घर र कार्यालयमा प्रहरीले सोमबार बिहानै ‘आतंककारी’लाई पक्राउका लागि जस्तै गरी अपरेसन चलाएको दृष्य देखियो।

Tata
GBIME

त्यो दृश्यले सामान्य खानतलासी होइन, कुनै आपराधिक मान्छेको आश्रयस्थलमा अपरेसन चलाएको अनुभूति दिलायो। अपरेसनमा करिब २०० हाराहारी प्रहरी परिचालन भए। उनीहरुले मुन्दडा निवास जाने मेघराज मार्ग पूर्णरुपमा सिल गरे।

प्रहरीले पाँच घण्टा घरका कुनाकाप्चा, दराज, सेफ लगायत सबै हेरिसकेपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले भने- प्राप्त सूचनाका आधारमा कानुनी प्रक्रियाअनुसार खानतलासी गरिएको हो। तर कुनै आपत्तिजनक वस्तु फेला परेन।

उनले माथिको आदेश अनुसार छापा मारेको हो भनेर सोध्दा जवाफ दिए- प्रहरीले खानतलासीका लागि माथि वा तलको आदेश भन्ने हुँदैन।

बिजमाण्डूलाई प्राप्त उच्च स्रोतका अनुसार गृह मन्त्रालयकै आदेशमा प्रहरीले मुन्दडा निवासमा छापा मारेको हो।

मुन्दडा निवासमा छापा मार्ने विषयमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई समेत जानकारी दिइएको थिएन। महानिरीक्षकलाई पनि जानकारी नदिई एउटा व्यावसायिक समूहको घरमा छापा मार्न निर्देशन कसले दियो?

कुनै पनि आर्थिक वा व्यावसायिक विषय जोडिएको भए सम्पत्ति शुद्धीकरण वा केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले हेर्ने गर्छन्। तर, जिल्ला प्रहरी कार्यालयको टोली कसरी छापा मार्न पुग्यो? यो प्रश्नको जवाफ अब गृहमन्त्री सुधन गुरुङले दिनुपर्ने भएको छ।

यो गृह प्रशासनमा देखिएको श्वेत आतंक हो। श्वेत आतंक सिर्जना गरेर नागरिकलाई त्रासमा राख्न खोजिएको छ।

पहिलो मुन्दडा परिवारका सदस्य देशकै नागरिक हुन्, त्यसपछि मात्रै उद्योगी व्यवसायी। एउटा नागरिकका घरका चोटाकोठामा सुरक्षा फौजलाई बुट बजार्न पठाएर सरकारले दिन खोजेको सन्देश स्पस्ट छ- यो देशमा हाम्रो सरकार छ, हामीले चाहेका बेलामा जे पनि गर्न सक्छौं। त्यो सहन तयार हुनू।

सुधनको नेतृत्वमा रहेको गृह प्रशासनको यो रौद्र रुप सशस्त्र द्वन्द्वबाट सत्तामा आएको माओवादीका पालामा पनि थिएन। शान्ति प्रक्रियामा आएपछि तत्कालीन माओवादीको योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले समानान्तर सत्ता चलाउने दुस्प्रयास गरेको थियो।

तर, सरकारमा आएपछि नेपाली सेनाका प्रधानसेनापति र पशुपति मन्दिरका पुजारी चलाउन खोज्दा तत्कालीन माओवादीले सत्ता नै गुमाउनु परेको थियो। त्यसपछि सत्तामा पुग्दा भने तत्कालिन माओवादी सुधारकै एप्रोचमा हिंड्न बाध्य भयो। भलै नारायणकाजी श्रेष्ठले गृहमन्त्री भएपछि निजी क्षेत्रमाथि केही निशाना साँध्ने प्रयास गरेका थिए।

अहिले तत्कालीन माओवादीलाई बिर्साउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सत्ताको बागडोर सम्हालिरहेका बालेन्द्र शाह नेतृत्वको सरकारले उद्यम गर्नेलाई आतंकको छाँयामा राख्न खोजेको छ। त्यसमा एकाध मन्त्रीबाहेक सबैको एप्रोच उद्यमीप्रति निर्मम छ। त्यही एप्रोचको निशाना बनेको हो- मुन्दडा परिवार।

नेपालमा सबैभन्दा धेरै चाँदीका गरगहना बनाएर निकासी गर्ने उद्योग जेजे ज्वेलर्स यही समूहको हो। यो समूहको हिमगिरि सोप, बाबा रिफाइनरी, मारुती रिफाइनरी, हाइलाइफ चप्पलदेखि सीता एयरमा लगानी छ।

एउटा व्यावसायिक समूह जसले वार्षिक अर्बौ रुपैयाँको कारोबार गर्छ र करोडौं रुपैयाँ राज्यलाई बुझाउँछ, उसकै घर परिवारका सदस्यलाई एकाबिहानै आतंकित पारेर छापा मारेपछि केही भेटिएन भनेर प्रहरी प्रशासन उम्किन्छ।

राज्यले यसरी सहजै उम्किन पाउँदैन। यसको जवाफ स्वयं गृहमन्त्री सुधनले दिनुपर्छ। सत्तामा बस्नेलाई जे पनि गर्ने छुट हुँदैन। नागरिकप्रतिको जवाफदेहिता सरकारमा बस्नेका लागि पनि हुन्छ।

लोकतान्त्रिक देशमा कुनै पनि नागरिक वा व्यावसायिक समूह कानुनभन्दा माथि हुँदैन। राज्य पनि कानुनभन्दा माथि हुन सक्दैन। राज्यले आफ्नो शक्ति प्रयोग गर्दा त्यसको औचित्य पुष्टि गर्नुपर्छ। र, गृहको नेतृत्वबाट भइरहेको यस्तो गतिविधिको लगाम स्वयं प्रधानमन्त्री बालेनले लगाउनुपर्छ। होइन भने छापा मारेर गइसकेपछि वेनीगोपाल मुन्दडाले त्रास मिश्रित स्वरमा दिएको अभिव्यक्तिले आम निजी क्षेत्र आतंक र भयमा बाँच्न बाध्य हुनेछन्।

बेनीगोपालले भनेका थिए-उहाँहरू बिहान ५ बजे आउनुभएको थियो। पुर्जी देखाएर खानतलासी गर्न आएको भन्नुभयो। हामीले अनुसन्धानमा पूरा सहयोग गर्‍यौं। भान्सा, बेडरुम, बैठक, सबै ठाउँ हेर्नुभयो। सबै दराज र बाकस खोल्नुभयो। अन्तिममा केही भेट्नुभएन। हामीलाई क्लिन चिट दिएर जानुभयो।

मुन्दडा समूहको निवासमा विनाकारण छापापछि उद्योगीहरुले देशमा बस्न नसक्ने अवस्था सिर्जना भएको बताउन थालेका छन्।

‘राज्य चलाउनेहरुले बस्नै नसक्ने बनाउने भए,’ एक उद्योगीले बिजमाण्डूसँग भने, ‘यो हाम्रो पनि देश होइन र? हामी यो देशका नागरिक होइनौं र?’

सुरुमा शक्तिको बुट बजार्ने र अन्तिममा क्लिन चिट दिएको हर्क बढाईंमा रमाउने हो भने देश खोक्रो हुन समय लाग्दैन। र, यो देश हाम्रो रहेन भनेर नागरिकले सरकारमाथि भरोसा गर्न छाड्नेछन्।