BIZMANDU
www.bizmandu.com

टेकुको बायोग्यास प्लान्ट पुन: संचालनमा ल्याउन काठमाडौं महानगरपालिकाले गर्‍यो सम्झौता

२०८३ साउन १८

टेकुको बायोग्यास प्लान्ट पुन: संचालनमा ल्याउन काठमाडौं महानगरपालिकाले गर्‍यो सम्झौता
टेकुको बायोग्यास प्लान्ट पुन: संचालनमा ल्याउन काठमाडौं महानगरपालिकाले गर्‍यो सम्झौता


काठमाडौं । काठमाडौंको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः संचालनमा ल्याउन काठमाडौं महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ।

Tata
GBIME

महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले आज सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सहरमा उत्पादन भएको जैविक फोहर व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सम्झौता गरिएको हो।

‘सहरमा उत्पादन हुने जैविक फोहरको दिगो व्यवस्थापनका लागि प्रविधिको प्रयोग बढाउने लक्ष्यसहित सम्झौता भएको छ। यो लक्ष्यमा पुग्न निर्धारित समयभित्रै काम पूरा हुने आशा राखेका छौं,’ सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘पुनः स्थापना गर्नु मात्र महत्वपूर्ण उपलब्धि होइन। यसको दिगो संचालन गर्नु र यसलाई सिकाइका रूपमा विस्तार गर्नु उपलब्धि हुनेछ। यो योजना सफल बनाएर सहरमा उत्पादन भएको फोहरलाई दिगो व्यवस्थापनको प्रणालीमा हाम्रो प्रयास जारी छ।’

केन्द्रका कार्यकारी निर्देशक ढकालले आवश्यक उपकरण, सामग्री तथा प्राविधिक सेवाबाट प्लान्ट संचालनमा ल्याउने बताए।

‘यसको अनुगमन र सुपरीवेक्षणपछि महानगरपालिकालाई हस्तान्तरण गर्नेछौं,’ उनले भने,’हरित जलवायु कोषअन्तर्गतका कार्यक्रममा महानगरपालिका र केन्द्रबीच सहकार्य हुन सक्छ।’

यो प्लान्ट महानगरपालिकाको एकीकृत दिगो फोहर व्यवस्थापन परियोजनाअन्तर्गत विसं २०७२ मा निर्माण सुरु गरेर विसं २०७५ देखि संचालन थालिएको थियो। प्लान्ट संचालन गर्दा दैनिक तीन मेट्रिकटन जैविक फोहरबाट १४ किलोवाट बिजुली, ३०० किलो जैविक मल, १३ हजार ५०० लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो। यसका लागि महानगरपालिका र युरोपियन युनियनले एक करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए।

प्राविधिक कारणले संचालन हुन नसकेको परियोजनालाई पुनः दिगो संचालनमा ल्याउन गरिएको सम्झौताअनुसार महानगरपालिकाले प्लान्टको दीर्घकालीन संचालन तथा मर्मत सम्भारका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने जनाएको छ।

यस्तै, प्लान्ट संचालनका लागि योग्य जनशक्ति वा संचालक छनोट गरेर व्यावसायिक ढाँचामा लैजाने, पुनः स्थापनापश्चात् संरचनाको पूर्ण स्वामित्व ग्रहण गर्ने गरि वातावरणमैत्री संचालन सुनिश्चित गर्ने, फोहरलाई स्रोतका रूपमा प्रयोग गरी बायोग्यास र जैविक मल उत्पादनमार्फत ‘चक्रीय अर्थतन्त्र’मा योगदान पुर्याउने जिम्मेवारी महानगरपालिकाको हुने बताइएको छ।

परियोजना पुनरुत्थानका लागि केन्द्रले प्लान्टको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ। उपकरण खरिद, जडान र परीक्षणको काम सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ। रासस