काठमाडौं। राष्ट्रिय सभाका सांसदहरूले जनताको विश्वास र अपेक्षा बमोजिम काम गर्न सरकारलाई आग्रह गरेका छन्।
राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले सरकारबाट जनताले आफ्ना हरेक समस्याको समाधान खोज्ने भएकाले सरकारले निराश तुल्याउन नहुने बताए।
नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले जनताले ठूलो विश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारको नेतृत्वमा पुर्याएको भन्दै जनताको चाहना बमोजिम काम गर्न आग्रह गरे। उनले मुलुकको स्वतन्त्रता र लोकतन्त्रका लागि त्याग र समर्पण गरेका नेताहरूको आदर्शबाट पाठ सिक्न सरकारलाई सुझाव दिए।
एमाले सांसद रूक्मिणि कोइरालाले जनजीवनका वास्तविक समस्या पहिचान गरी राहतमूलक कार्यक्रम ल्याउन आग्रह गरिन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद श्रीकृष्णप्रसाद अधिकारीले सुनसरी लगायत जिल्लामा भएका घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे।