BIZMANDU
www.bizmandu.com

सरकारी भवन एक वर्षमा ६६ वटा बने, २३ अर्ब बजेटमा सवा ५ अर्ब मात्र खर्च

२०८३ साउन १८

सरकारी भवन एक वर्षमा ६६ वटा बने, २३ अर्ब बजेटमा सवा ५ अर्ब मात्र खर्च
सरकारी भवन एक वर्षमा ६६ वटा बने, २३ अर्ब बजेटमा सवा ५ अर्ब मात्र खर्च


काठमाडौं। शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)ले गत आर्थिक वर्ष २०८२/८३ मा देशभर ६६ वटा भवन बनाएको छ।

Tata
GBIME

इकाईले वार्षिक प्रगति समीक्षामा सार्वजनिक गरेको विवरण अनुसार सरकारी भवन, स्वास्थ्य संस्था भवन तथा सम्पदा संरक्षणसम्बन्धी योजना सम्पन्न गरेको हो।

सम्पन्न भएका ६६ योजनामध्ये ९ वटा सरकारी भवन, ५२ वटा स्वास्थ्य संस्था भवन र ४ वटा सम्पदा संरक्षणका योजना हुन्।

सबैभन्दा धेरै काठमाडौंमा २६ वटा योजना सम्पन्न भएका छन्। इकाईले धादिङ, जाजरकोट, कास्की, पाल्पा, डोटी, बाग्लुङ, रामेछाप लगायत जिल्लामा पनि भवन निर्माण सम्पन्न गरेको छ।

बजेट कार्यान्वयनमा इकाई कमजोर देखिएको छ। गत आर्थिक वर्ष २२ अर्ब ९५ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएकामा इकाईले ५ अर्ब २२ करोड ३८ लाख रुपैयाँ मात्र खर्च गरेको छ।

इकाईले निजी आवास पुनर्निर्माण कार्यक्रमअन्तर्गत पहिलो किस्ता ३०, दोस्रो किस्ता ४७ र तेस्रो किस्ता ६० लाभग्राहीलाई वितरण गरेको जनाएको छ। साथै प्रबलीकरणतर्फ पहिलो किस्ता ३४ र दोस्रो किस्ता २९ लाभग्राहीलाई उपलब्ध गराइएको छ। यस कार्यक्रमका लागि वर्षभरि १ करोड ७५ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको उल्लेख छ।

केही आयोजना भने अझै रुग्ण अवस्थामा रहेको इकाईले जनाएको छ। पुल्चोकस्थित मन्त्री निवासका दुई भवन, रेडियो नेपालको सिंहदरबारस्थित कार्यालय भवन तथा हिरण्यवर्ण महाविहार संरक्षण आयोजना विभिन्न कानुनी, प्राविधिक तथा निर्माण व्यवस्थापनसम्बन्धी समस्याका कारण सम्पन्न हुन सकेका छैनन्।

केही आयोजनामा सर्वोच्च अदालतको फैसला, मध्यस्थता प्रक्रिया, वाटरप्रुफिङ, परीक्षण तथा समुदायको अवरोधजस्ता कारणले ढिलाइ भएको इकाईले जनाएको छ।

इकाईले पोहोर भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा कार्यालयका लेखा, प्रशासन, प्राविधिक तथा स्टोरसम्बन्धी कागजात नष्ट हुँदा आयोजना कार्यान्वयनमा समस्या आएको बताएको छ।

इकाईले अभिलेख पुनः संकलन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण तथा विभाग र मन्त्रालयसँग समन्वय गरी स्रोत सुनिश्चितताको प्रयास गरिरहेको छ।

धरहरा पुनर्निर्माण, त्रिचन्द्र क्याम्पस प्रबलीकरण, सिंहदरबार पश्चिम मोहडा पुनर्स्थापना र गोपीचन्द्र महाविहार संरक्षणलगायत आयोजनामा पनि कागजात अभाव, डिजाइन परिवर्तन, मूल्यवृद्धि, बीमा दाबी तथा कानुनी विवादका कारण ढिलाइ भएको इकाईले उल्लेख गरेको छ।

इकाईले चालु आर्थिक वर्ष पाँच नयाँ कार्यक्रम अघि बढाउने तयारी गरेको छ। नयाँ योजनामा पशुपतिनाथ परिसरको पञ्चदेवल र बज्रघर पुनर्निर्माण, बालकृष्ण सम सेन्टर संरक्षण, विभाग परिसरको सेतो दरबार पुनर्निर्माण तथा शोभाभगवती मन्दिर परिसरको सत्तल पुनर्निर्माण छन्।

यी योजनाका लागि प्रारम्भिक डिजाइन, डीपीआर, सहमति तथा बोलपत्र प्रक्रियालाई प्राथमिकता दिइएको इकाईले जनाएको छ।