काठमाडौं । एक सातादेखि अशान्त रहेको तराईका जिल्लाहरु अहिले सामान्य अवस्थामा फर्किन थालेका छन्।
विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञा प्रशासनले हटाउन सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि राजविराज र बोदेबसाइन नगरपालिकामा लगाएको निषेधाज्ञा हटाएको छ। सोमबार १० बजेबाट निषेधाज्ञा हटाइएको हो।
‘अहिले सामान्य बन्दै गएको छ। सप्तरीको निषेधाज्ञा हटाइएको छ,’नेपाल प्रहरीका डिआइजी अभिनारायण काफ्लेले भने।
डिआइजी काफ्ले अहिले सप्तरी जिल्लामा प्रहरीलाई सम्वन्य गरिरहेका छन्।
सुनसरीका दुई स्थानमा भने निषेधाज्ञा जारी नै रहेको छ। अवस्था मूल्यांकन गरेर त्यहाँ पनि निधेषाज्ञा हटाउने तयारी भइरहेको छ।
एक सातादेखि अवस्था अशान्त भएपछि तराई पुगेका गृहमन्त्री सुधन गुरुङ पनि आइतबार साँझ काठमाडौं फर्किएका छन्। त्यस्तै, केही उच्च प्रहरी अधिकृत पनि फर्किन थालेका छन्।
सुनसरीको कप्तानगंजमा भएको घटनापछि सुनसरी, सप्तरी, सिराहा, पर्सा लगायत जिल्लामा निषेधाज्ञा र कर्फ्यु नै लगाउनु परेको थियो।