BIZMANDU
www.bizmandu.com

मोर्बिडेलीको नयाँ एड्भेन्चर बाइक विमानबाट ल्याइयो नेपाल, नाइमा मोबिलिटी एक्स्पोमा राखिने

२०८३ साउन १८

मोर्बिडेलीको नयाँ एड्भेन्चर बाइक विमानबाट ल्याइयो नेपाल, नाइमा मोबिलिटी एक्स्पोमा राखिने
मोर्बिडेलीको नयाँ एड्भेन्चर बाइक विमानबाट ल्याइयो नेपाल, नाइमा मोबिलिटी एक्स्पोमा राखिने


काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीको २५० सीसी क्षमताको नयाँ एड्भेन्चर मोटरसाइकल टी २५० एक्स नेपाल आइपुगेको छ।

Tata
GBIME

यो मोटरसाइकल नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्नका लागि विमानमा राखेर नेपाल ल्याइएको हो।

नेपालका लागि मोर्बिडेलीको आधिकारिक बिक्रेता वैद्यज् अर्गनाइजेसनले साउन २६ गते सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमार्फत टी २५० एक्स सार्वजनिक गर्ने तयारी गरेको छ।

एड्भेन्चर बाइकप्रति बढ्दो आकर्षणलाई ख्याल गरी कम्पनीले यो मोडल ल्याएको हो। कम्पनीका अनुसार मोर्बिडेली ब्रान्डअन्तर्गत नेपाली बजारमा उपलब्ध हुने टी २५० एक्स सबैभन्दा किफायती एड्भेन्चर मोटरसाइकल हुनेछ।

हाल नेपाली बजारमा मोर्बिडेलीका टी ३५२ एक्स र टी १००२ भीएक्स सुपर एड्भेन्चर उपलब्ध छन्।

टी २५० एक्समा २४९.४ सीसीको सिंगल सिलिन्डर, फोर-भल्भ, एयर-कुल्ड, ईएफआई इन्जिन जडान गरिएको छ। यसले ७,५०० आरपीएममा अधिकतम २२.४ हर्सपावर तथा ६,००० आरपीएममा २२.३ एनएम टर्क उत्पादन गर्छ।

सिक्स-स्पिड गियरबक्ससहितको मोटरसाइकलको अधिकतम गति करिब ११५ किलोमिटर प्रति घण्टा रहेको कम्पनीले जनाएको छ। कम तथा मध्यम आरपीएममै पर्याप्त टर्क उपलब्ध हुने भएकाले शहरमा दैनिक प्रयोगदेखि अफरोड ट्रेलसम्म बाइकले सहज राइडिङ अनुभव दिने दाबी गरिएको छ।

र्‍याली एड्भेन्चर बाइकबाट प्रेरित इटालियन डिजाइनमा तयार गरिएको टी २५० एक्समा हल्का तौल, उच्च ग्राउन्ड क्लियरेन्स, लङ-ट्राभल यूएसडी फ्रन्ट फोर्क र प्रिलोड एड्जस्टेबल रियर मोनोसक सस्पेन्सन दिइएको छ।

डबल क्रेडल फ्रेममा आधारित यो मोटरसाइकलमा स्पोक ह्विल, अगाडि पछाडि डिस्क ब्रेक र डुअल पर्पस टायर प्रयोग गरिएकाले पक्की तथा कच्ची दुवै सडकमा राम्रो नियन्त्रण र स्थिरता प्रदान गर्ने कम्पनीको दाबी छ।

१५४ किलो तौल रहेको मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स २२० एमएम, सिट हाइड ८२० एमएम र फ्युल ट्यांक ११.७ लिटर क्षमताको छ। नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दा यो महत्वपूर्ण पक्ष हुने देखिन्छ।

मोर्बिडेलीको अन्य एडीभीमा पाइने हाइटेक फिचर यसमा छैन। यसमा सिम्पल र्‍याली स्टाइल भर्टिकल एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, पूरा एलईडी लाइटिङ सेटअप, डुअल प्रोजेक्टर हेडल्याम्प, अटोमेटिक लाइट सिस्टम, हाजार्ड लाइट, सिंगल केबल थ्रोटल कन्ट्रोल, इलेक्ट्रिक स्टार्ट, चार्जिङ पोर्ट, ब्याकलिट ह्याण्डल स्विच, ह्यानगार्ड, विण्डसिल्ड लगायत फिचर छन्।