विराटनगर। निजी क्षेत्रले पछिल्ला महिनादेखि ‘उद्योगीलाई तर्साउने’ र ‘लगानीको वातावरण बिगार्ने’ शैली अपनाएको भन्दै सरकारको आलोचना गरिरहेकै बेला विराटनगरमा भएको एउटा प्रहरी अपरेसनले उक्त बहसलाई मसला दिएको छ।
मोरङ प्रहरीले औद्योगिक घराना देवेनारा समूहका मुन्दडा परिवारको घरमा बिहानै ठूलो संख्यामा हतियारधारी प्रहरी परिचालन गरेर गरेको खानतलासीमा अन्ततः केही फेला पारेन। ‘छापामारी’को यो घटनाले प्रहरीको सूचना प्रणाली, कार्यशैली र शक्तिको प्रयोगमाथि गम्भीर प्रश्न उठेको छ।
हिन्दी उखान ‘खोदा पहाड निकला चूहा’ चरितार्थ हुने नतिजा आएको प्रहरी अपरेसनको टिप्पणी विराटनगरका व्यावसायिक वृत्तमा भइरहेको छ। बिहान ५ बजेदेखि सुरु भएको अपरेसनमा प्रहरीले वरपरका सडक पूर्ण रूपमा बन्द गर्दै मुन्दडा परिवारको घरलाई घेरा हालेको थियो। स्थानीयका अनुसार दृश्य कुनै सामान्य खानतलासीजस्तो नभइ कुनै आतंककारी पक्राउका लागि गरिएको ‘सेक्युरिटी अपरेसन’जस्तो देखिन्थ्यो।
प्रहरीको टोली करिब साढे चार घण्टापछि सोमबार बिहान ९:३४ बजे मुन्दडा निवासबाट बाहिर निस्कियो। टोलीसँगै उद्योगी वेनीगोपाल मुन्दडा र उनका भतिजा प्रकाश मुन्दडा पनि गेटबाहिर आए। परिवारका अनुसार प्रहरीले घरका सबै कोठा, भान्सा, बैठक, शयनकक्ष, दराज र बाकससम्म खोलेर सूक्ष्म रूपमा खानतलासी गर्यो। तर अन्त्यमा कुनै पनि गैरकानुनी वस्तु फेला नपारी रित्तै फर्कियो।
गेटबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै वेनीगोपाल मुन्दडाले भने, ‘उहाँहरू बिहान ५ बजे आउनुभएको थियो। पुर्जी देखाएर खानतलासी गर्न आएको भन्नुभयो। हामीले अनुसन्धानमा पूरा सहयोग गर्यौं। भान्सा, बेडरुम, बैठक, सबै ठाउँ हेर्नुभयो। सबै दराज र बाकस खोल्नुभयो। अन्तिममा केही भेट्नुभएन। हामीलाई क्लिन चिट दिएर जानुभयो।’
नेपाल उद्योग परिसंघ (सीएनआई) कोशीका वरिष्ठ उपाध्यक्ष तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले पनि प्रहरीले कुनै सूचनाका आधारमा अनुसन्धान गर्न आएको हुन सक्ने भन्दै आफूहरूले सकारात्मक रूपमा सहयोग गरेको बताए। उनले भने, ‘कुनै सूचना आएको थियो होला। त्यसको भेरिफाई गर्न आउनुभएको थियो। हामीले पूर्ण सहयोग गर्यौं र यसलाई सकारात्मक रूपमा लिएका छौं।’
तर अपरेसनको शैलीलाई लिएर स्थानीयवासी र व्यवसायीले गम्भीर असन्तुष्टि जनाएका छन्। बिहान ५ बजेदेखि साढे ८ बजेसम्म पं. मेघराज शर्मा मार्गमा सर्वसाधारणको आवतजावत पूर्ण रूपमा रोकिएको थियो। स्थानीयका अनुसार अवस्था ‘अघोषित कर्फ्यु’ सरह थियो।

मुन्दडा निवासको ठीक अगाडि रहेको रामलाल गोल्छा आँखा अस्पतालमा बिरामी भेट्न जाने आफन्तलाई समेत प्रहरीले रोकेको थियो। अस्पतालमा भर्ना भएका बिरामीका परिवारलाई औषधि किन्न बाहिर निस्कनसमेत नदिइएको स्थानीयले बताएका छन्। मुन्दडा निवासको पूर्वतर्फ पर्ने प्रदीप मुरारकाको घर जोडिएको गल्ली पनि पूर्ण रूपमा सिल गरिएको थियो। वरपरका बासिन्दाले बिहानभरि त्रासपूर्ण वातावरण झेल्नुपरेको बताए।
नेपालको ठूलो मानिने चाँदी उद्योग जेजे ज्वेलर्स मुन्दडा परिवारको हो। यो घरानाका हिमगिरि सोप, बाबा रिफाइनरी, मारुती रिफाइनरी, हाइलाइफ चप्पल लगायतका उद्योग छन् । यो घरानाले सीता एअर मार्फत् हवाई सेवाको व्यवसाय पनि गरिरहेको छ। विराटनगरको सेन्ट्रल मलको पनि सञ्चालक रहेको देवेनारा समूह घरजग्गाको कारोबार पनि गरिरहेको छ।
स्थानीय स्रोतका अनुसार मुन्दडा निवास छापामारीमा करिब दुई सयको हाराहारीमा प्रहरी परिचालन गरिएको थियो। कुनै ठूला आपराधिक घटनामा गरिने शैलीमा गरिएको अपरेसनबाट अन्ततः केही पनि बरामद नभएपछि प्रहरीको सूचनाको विश्वसनीयता र शक्तिको अनुपातहीन प्रयोगमाथि प्रश्न उठेको छ।
व्यावसायिक क्षेत्रका अगुवाहरूले यस्ता घटनाले उद्योगी-व्यवसायीमा थप मनोवैज्ञानिक त्रास सिर्जना गर्ने बताएका छन्। यद्यपि सरकारी निकायसँग प्रत्यक्ष टकरावमा जान नचाहेका कारण अधिकांशले सार्वजनिक रूपमा बोल्न भने चाहेका छैनन्। निजी क्षेत्रका प्रतिनिधिहरूले कुनै ठोस प्रमाणबिनै ठूलो सुरक्षा अपरेसन सञ्चालन गर्दा त्यसले लगानीकर्तामा नकारात्मक सन्देश जाने र उद्योगीलाई अपराधीसरह व्यवहार गरिएको अनुभूति हुने टिप्पणी गरेका छन्।
यता मोरङ प्रहरीका प्रमुख एसपी कवित कटुवालले भने प्राप्त सूचनाका आधारमा कानुनी प्रक्रियाअनुसार खानतलासी गरिएको र कुनै आपत्तिजनक वस्तु फेला नपरेको स्वीकार गरे। उनले बिजमाण्डूसँग भने, ‘त्यहाँ कानुनविपरीतका केही सामान छन् भन्ने सूचना हामीले पाएका थियौँ। त्यसैले सर्च गरेका हौँ। तर सूचनामा भनिएअनुसार केही फेला परेन।’
प्रहरीले अनुसन्धानलाई नियमित प्रक्रिया भने पनि कुनै बरामदीविनै समाप्त भएको यो अपरेसनले राज्यको अनुसन्धान संयन्त्र, गोप्य सूचनाको विश्वसनीयता र निजी क्षेत्रप्रति राज्यको व्यवहारबारे नयाँ बहस सुरु गरिदिएको छ। उद्योगीमाथि अपराधीलाई झैँ घेरा हालेर गरिएको कारबाही उचित थियो कि थिएन भन्ने प्रश्नको उत्तर अब गृह प्रशासनसँगै सरकारले दिनुपर्ने भएको छ।