BIZMANDU
www.bizmandu.com

बारम्बार पक्राउ पर्दै छुट्दै आएका दुर्गा प्रसाईं पुनः प्रहरीको नियन्त्रणमा, कारण विवादास्पद अभिव्यक्ति

२०८३ साउन १८

बारम्बार पक्राउ पर्दै छुट्दै आएका दुर्गा प्रसाईं पुनः प्रहरीको नियन्त्रणमा, कारण विवादास्पद अभिव्यक्ति
बारम्बार पक्राउ पर्दै छुट्दै आएका दुर्गा प्रसाईं पुनः प्रहरीको नियन्त्रणमा, कारण विवादास्पद अभिव्यक्ति


काठमाडौं। विवादास्पद व्यवसायी दुर्गा प्रसाईं आइतबार राति पुनः पक्राउ परेका छन्। पत्रकार सम्मेलनमा हिन्दु राज्य र राजतन्त्रका पक्षमा दिएको अभिव्यक्तिपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

Tata
GBIME

प्रसाईं पछिल्ला केही वर्षयता बारम्बार पक्राउ पर्ने र अदालतबाट धरौटी वा रिहाइ पाउने क्रम दोहोरिँदै आएको छ। प्रहरी स्रोतका अनुसार उनी २०७६ सालपछि झन्डै एक दर्जन पटक हिरासत पुगिसकेका छन्।

२०८२ सालमा मात्रै उनी ५ पटक पक्राउ परिसकेका छन्। मंसिरमा एक पटक, माघमा २ पटक र फागुनमा २ पटक पक्राउ परेका थिए। उनी २ पटक निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा पक्राउ परेका थिए।

प्रसाईंमाथि अभद्र व्यवहार, साइबर अपराध, ठगी, बैंकिङ कसुर तथा सार्वजनिक शान्तिविरुद्धका मुद्दामा पनि अनुसन्धान भएको छ। तर, कमजोर अनुसन्धान, स्पष्ट कानुनी आधारको अभाव वा अन्य कारणले उनी अधिकांश घटनामा अदालतबाट धरौटीमा छुट्दै आएका छन्।

गत निर्वाचनका क्रममा निर्वाचन बहिष्कार गर्न सार्वजनिक आह्वान गरेपछि पनि उनी पक्राउ परेका थिए। त्यसबेला पक्राउ परेका प्रसाईं केही दिनपछि रिहा भएका थिए।

२०८१ चैत १५ गतेको घटनापछि उनी भारत पुगेका थिए। त्यसपछि प्रहरीले सिक्किमबाट नियन्त्रणमा लिए पनि उनी अदालतबाट धरौटीमा छुटेका थिए।

चैत २८ गते पुनः पक्राउ परेका प्रसाईंलाई २०८२ जेठमा जिल्ला अदालतले थुनामा पठाएको थियो। तर, सर्वोच्च अदालतले पछि उनलाई रिहा गर्न आदेश दिएको थियो।

प्रहरी अधिकारीहरूका अनुसार प्रसाईं विभिन्न सरकारको कार्यकालमा पनि पटक-पटक पक्राउ परेका व्यक्ति हुन्। उनका अभिव्यक्ति र गतिविधिका कारण समय-समयमा उनीविरुद्ध कानुनी कारबाही हुँदै आए पनि अधिकांश मुद्दा अन्ततः धरौटी वा रिहाइमै टुंगिने गरेका छन्।