काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीयबासीलाई अंकित मूल्य अर्थात् प्रति कित्ता १०० रुपैयाँमै सेयर उपलब्ध गराउन सबै सदस्य कम्पनीलाई आग्रह गरेको छ।
इप्पानले स्थानीय समुदायको हित, आयोजनाप्रतिको अपनत्व र दीर्घकालीन विश्वास कायम राख्न यो व्यवस्था निरन्तर कायम रहनुपर्ने जनाएको छ।
आइतबार जारी प्रेस विज्ञप्तिमा इप्पानले केही जलविद्युत् आयोजनाको साधारण सेयर निष्कासन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि रोकिँदा केही प्रवर्धक कम्पनीले स्थानीयका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
इप्पानका अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ को उपनियम ४ ले स्थानीय प्रभावित बासिन्दालाई लाभान्वित गर्ने उद्देश्यले १० प्रतिशत सेयर छुट्याउने व्यवस्था गरिएको हो। त्यसैले उक्त सेयर अंकित मूल्यमै उपलब्ध गराउनु कानुनी व्यवस्था र यसको मूल मर्मअनुसार हुने इप्पानको धारणा छ।
इप्पानले आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने, निर्माण अवधिका असुविधा व्यहोर्ने र आयोजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष सहयोग गर्ने स्थानीय समुदायलाई स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयका लागि सेयर छुट्याइएको स्मरण गराएको छ।
स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा निष्कासन गरिए उनीहरूको पहुँच सीमित हुने, आयोजनाप्रतिको अपनत्व कमजोर बन्ने र आयोजना तथा समुदायबीच वर्षौंदेखि निर्माण भएको विश्वासमा नकारात्मक असर पर्ने इप्पानले चेतावनी दिएको छ।
इप्पानका अनुसार स्थानीयले अंकित मूल्यमा सेयर प्राप्त गर्दा उनीहरू आयोजनाका वास्तविक साझेदार बन्नेछन्। यसले स्वामित्वको भावना बढाउने, सामाजिक विवाद र अवरोध घटाउने तथा आयोजना निर्माण र संचालनमा स्थानीय सहयोग अझ प्रभावकारी बनाउने विश्वास इप्पानले व्यक्त गरेको छ।
यसबाट स्थानीय समुदायले दीर्घकालीन आर्थिक लाभ प्राप्त गर्ने, स्थानीय विकासमा टेवा पुग्ने र सामाजिक सद्भाव पनि सुदृढ हुने उल्लेख गरिएको छ।
इप्पानले नेपाल सरकार, सम्बन्धित नियामक निकाय र सबै प्रवर्धक कम्पनीलाई स्थानीय प्रभावित बासिन्दाको हितलाई प्राथमिकतामा राख्दै अंकित मूल्यमा सेयर उपलब्ध गराउने नीति निरन्तर कायम राख्न आग्रह गरेको छ।
साथै, साधारण सेयर निष्कासनसँग सम्बन्धित नियामकीय प्रक्रिया सरल, पारदर्शी र समयबद्ध बनाउन तथा सेयर निष्कासनमा भइरहेको ढिलाइका कारण जलविद्युत् आयोजनाले भोगिरहेका समस्या समाधान गर्न आवश्यक पहल गर्न पनि इप्पानले सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।